काठमाडौँ । जेन जेड आन्दोलनका समयमा काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका एक जना कैदीलाई गुल्मी जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ।
आइतबार बिहान रेसुंगा नगरपालिका-८ अन्तर्गत बसपार्क क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार प्रहरी सहायक हवल्दार बासु मरासिनीको नेतृत्वमा खटिएको दुई सदस्यीय टोलीले खोजतलासका क्रममा फरार अवस्थाका उक्त कैदीलाई फेला पारी पक्राउ गरेको हो। उनी ज्यानसम्बन्धी कसुर मुद्दामा कारागारमा रहेका व्यक्ति हुन्।
पक्राउ पर्ने व्यक्ति गुल्मीको छत्रकोट गाउँपालिका-५ निवासी ६५ वर्षीय मानबहादुर सर्तुंगेल रहेको प्रहरीले पुष्टि गरेको छ। नियन्त्रणमा लिएपछि उनलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय तम्घास, गुल्मीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







