काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गरेका छन् ।
एमालेको ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । उनले जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई उम्मेदवार बनाएकाले मतदातासँग मत दिन आग्रह गरेका छन्।
उम्मेदवार थापाले ओखलढुंगाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नगर्ने भन्दै सकारात्मक काम गरेर असल छोरी र असल जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने दाबी गरेका छन्। कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुंगामा ठुलो उत्साह आएको धारणा राखेका छन्।







