काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा विकासको गति सुस्त र सुशासनमा रहेका कमजोरीका कारण आम नवयुवा पुस्तामा गहिरो असन्तुष्टि रहेको बताएका छन्। आइतबार एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले उक्त कुरा बताएका हुन्।
उनका अनुसार नवयुवामा देखिएको असन्तुष्टि समय समयमा विभिन्न घटनाक्रममार्फत प्रकट हुँदै आएको र हालको राजनीतिक परिस्थिति समेत नवयुवाले व्यक्त गरेको असन्तोष र विद्रोहको परिणाम हो।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आम नागरिकले विकासको गति तीव्र बनाउने, सुशासनको अनुभूति दिलाउने तथा स्रोत र सम्पत्तिमाथिको अतिक्रमण घटाउँदै भ्रष्टाचार नियन्त्रण गर्न सक्ने राजनीतिक शक्तिलाई सत्तामा ल्याउने विश्वास व्यक्त गरे।
देशमा विकाससम्बन्धी नीति र योजना अभाव नभएको भन्दै उहाँले पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका व्यावसायिक योजना तथा निजी क्षेत्रका योजनामा विकासको स्पष्ट खाका भएको बताए। तर ती कार्यान्वयनमा समस्या रहेको उल्लेख गरे।
‘हामीले हाम्रा दस्ताबेजहरूमा पञ्चवर्षीय योजना, दीर्घकालीन रणनीतिक योजना, मन्त्रालयका विजनेस प्लानहरु र निजी क्षेत्र आफ्नैको पनि योजनमा विकासको रूपरेखा व्यक्त भएको छ, ‘उनले भने, ‘समस्या हामीकहाँ त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति, इमानदारिता र परिणाम ल्याउन सक्ने व्यवस्थापन छैन। यी तीन वटै कुरा बहस गरेर मात्र प्राप्त हुँदैन। यो कुरा हामी आफैँले अभ्यास गरेर देखाउनुपर्ने हुन्छ।’
उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत मुलुकका समस्याहरूको हल गर्ने रणनीतिक योजना भएको राजनीतिक शक्तिलाई जिताउन समेत आम नागरिकलाई आग्रह गरे ।







