काठमाडौँ। राष्ट्रिय सहकारी बैंकले आगामी ३ वर्षमा पूँजीकोष ८ प्रतिशत कायम गर्नुपर्ने भएको छ । नकारात्मक पूँजीकोष रहेको सो बैंकलाई आगामी २०८५ देखि सो सीमामा पूँजी कायम गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
सहकारी बैंकको पूँजी साधारण सेयरले मात्र बनेको हुनुपर्ने व्यवस्था गर्दै केन्द्रीय बैंकले न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड कायम गरेको छ । सहकारी बैंकले आफ्नो कुल जोखिम भारित सम्पत्तिको आधारमा प्राथमिक पूँजी ४ प्रतिशत र कुल पूँजीकोष ८ प्रतिशत कायम गर्नु पर्नेछ ।
पूँजीकोष भन्नाले प्राथमिक पूँजी र पूरक पुँजीको योग हो । प्राथमिक पूँजी गणना गर्दा सोमा चुक्ता पूँजी, प्रस्तावित बोनस सेयर, जगेडा कोष, सञ्चित नाफा/नोक्सान, प्रयोजन नखुलाई स्वतन्त्र रूपमा खडा गरिएका स्वतन्त्र कोषलाई समावेश गर्न पाइनेछ ।
आर्थिक वर्ष २०८१र८२ मा सहकारी बैंकको सञ्चित नोक्सानी ४ अर्ब २५ करोड रुपैयाँ छ । सो अवधिमा बैंकको कुल पूँजी कोष ०.८२ प्रतिशत मात्र छ । त्यसैगरी प्राथमिक पूँजी कोष ०.३४ प्रतिशत मात्र छ ।
गत आवमा बैंकको कुल पूँजी कोष ७.१८ प्रतिशतले नकारात्मक छ । अघिल्लो आवमा यस्तो अनुपात ४.६५ प्रतिशत नकारात्मक थियो । बैंकको पूँजी कोषलाई आधार मान्ने हो भने कर्जा लगानी गर्ने अवस्था नै छैन । तर पनि बैंकले कर्जा लगानी रोकेको अवस्था छैन ।







