काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरे पनि एमाले युवाहरूको प्रदेश भेला परानीपुरमा जारी छ ।
महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने तय भएकोमा सिमरामा तनाव भएपछि सामान्य रूपमा कार्यक्रम गर्ने तयारी रहेको एमाले नेता किसान श्रेष्ठले बताए । जनप्रदर्शन भने स्थगित भएको छ ।
सिमरा विमानस्थलमा जेन जेड प्रदर्शनको विरोधका कारण जहाज नगएपछि नेताहरू काठमाडौँमै रोकिएका छन् ।
जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कर्फ्युका कारण बाटैमा रोकिएको उनले बताए ।
‘पाँच हजार मान्छे बाटैमा छन्, उनीहरूलाई फर्किन भनिएको छ’, उनले भने । यद्यपि परवानीपुरस्थित डीएभी स्कुलसँगै चयनपुरको चौरमा निर्धारित भेला स्थलमा दुई हजारभन्दा बढी मानिस भेला भइसकेका थिए । नेता श्रेष्ठका अनुसार आइसकेका कार्यकर्तालाई सम्बोधन गरिने र कार्यक्रम समापन गर्ने तयारी छ ।
भेलाका निम्ति मधेशका ८ वटै जिल्लाबाट एक हजारभन्दा बढी सहभागी भएका छन् । भेलास्थल मुख्य सडकसँगै भएकाले सजग भएर कार्यक्रम सम्पन्न गरिने श्रेष्ठले बताएका छन् ।







