काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीसम्बन्धी सूचना कुनै पनि अनधिकृत व्यक्तिको पहुँच नपुगेको बताएको छ ।
निर्वाचन आयोगको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरी मतदाता नामावलीसम्बन्धी सूचनाहरू फेला पारेको भनी विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा राखिएका र साझा गरिएका दाबीहरू प्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगले आज एक सूचना जारी गर्दै भनेको छ- ‘निर्वाचन आयोगको वेबसाइट तथा मतदाता नामावलीसम्बन्धी सूचनाहरूमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच पुगेको छैन र मतदाता नामावलीसम्बन्धी सूचना प्रणाली पूर्ण रूपमा सुरक्षित छ ।’
नागरिकका कानुन बमोजिम गोप्य राख्नुपर्ने सूचनाको पूर्ण सुरक्षाका लागि आयोग प्रतिबद्ध रहेको भनिएको छ । यसका लागि आयोगसँग सम्बद्ध सूचना प्रविधिसम्बन्धी विज्ञहरूले सूचना प्रणालीको निरन्तर अनुगमन गर्ने, सुरक्षा जोखिम विश्लेषण गरी सूचना प्रणाली सुरक्षाका लागि अपनाउनुपर्ने सबै उपायहरू अवलम्बन गर्ने कार्य गरिरहेको आयोगको भनाइ छ ।
सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको सूचना प्रणालीबाट लिइएको भनी देखाइएका पीडीएफ फाइलहरू आयोगले विगतमा निर्वाचन प्रयोजनका लागि कानुनसम्मत रूपमा निर्वाचन कार्यालयहरू र राजनीतिक दलहरूलाई उपलब्ध गराइएका सामान्य सूचनाहरू भएको भनिएको छ । त्यसमा नागरिकका संवेदनशील वा गोप्य विवरण समावेश भएका छैनन् ।
यस सम्बन्धमा प्रकाशन एवं प्रसारण भएका अप्रमाणित, भ्रामक तथा मिथ्या सूचना र सामग्रीहरूमा विश्वास नगर्न पनि आयोगले सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।








