काठमाडौँ। काठमाडौँको वसन्तपुरस्तिथि हनुमानढोका दरबार स्क्वायरमा रहेको कालभैरवलाई ३२ प्रकारको व्यञ्जनले पूजा गरिएको छ ।
वसन्तपुरस्थित भैरवस्थानमा कालभैरवलाई ३२ प्रकारको व्यञ्जनले पूजा गरिएको हनुमान ढोकाका स्थानीय एवम् कालभैरव समितिले जनाएको छ ।
समितिका अनुसार कालभैरवको उत्पत्ति अर्थात् जन्मदिनमा नेवारी परम्परा अनुसार वसन्तपुरमा ३२ तरिकाको भोज राखिएको छ। उक्त भोजमा माछा, केरा, फूल, चामल, समयबजी लगायतका परिकारहरू राखेर कालभैरवलाई पूजा गरिएको हो।
कालभैरव काठमाडौँको हनुमानढोका दरबार स्क्वायरमा रहेको भैरवस्थान हो। यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ। यस काल भैरवको मूर्ति मल्लकालीन काठमाडौँका बासिन्दाले नागार्जुन पहाड उत्खनन् गर्दा भेटेर काठमाडौँको वसन्तपुरमा ल्याई स्थापना गरेका थिए।
मल्लकालको उत्तरार्धसम्म यसमा तत्कालीन नेपाल न्यायालयको रूपमा प्रयोग गरिन्थ्यो। त्यसबेलामा कालभैरवको मूर्ति अघि आएर अपराधीलाई अपराध कबुल गर्न लगाइन्थ्यो ।
यदि संदिग्धले झुटो जवाफ दिएमा उक्त व्यक्तिको कालभैरव मूर्ति अघि ‘रगत छादेर मृत्यु हुन्छ’ भन्ने जनविश्वास थियो।







