काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमा नाकाको आवागमन सञ्चालनमा आएको छ ।
भारतको बिहार राज्यका महोत्तरीका सीमावर्ती विधान सभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि आवागमन खुलेको हो ।
आवागमन खुल्नासाथ मटिहानी, भिठ्ठामोर, मनरा र सम्सीसहितका सीमावर्ती नेपालका बजारबाट दशगजा पारीका भारतीय बजार र उताका सर्वसाधारण नेपालतर्फ आउजाउ गर्न थालेका छन् ।
महोत्तरीसँग सीमा जोडिएका बिहारको मधुवनी जिल्लाको हर्लाखी र सीतामढी जिल्लाका सुरसण्ड तथा परिहार विधान सभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै आउजाउ खुलेको हो ।
सीमाक्षेत्रमा दुबैतर्फका सर्वसाधारण घुमफिर, किनमेल र नातासम्बन्धका परिवारजनसँग भेटघाटका लागि आउजाउ गर्ने यहाँको बाक्लै चलन छ । बिहारको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती दुबैतर्फका जिल्ला प्रशासनले गत शनिबार साँझ छ बजेदेखि आज साँझ ६ बजेसम्मका लागि आवागमन पूर्ण बन्द रहने सूचना जारी गरेका थिए ।
महोत्तरी जिल्लासँग भारतको बिहार राज्यका मधुवनी र सीतामढी सीमा जोडिएका जिल्ला हुन् । यी दुवै भारतीय जिल्लासँगको सीमा दूरी करिब ३९ किलोमिटर छ । सीमा क्षेत्रमा महोत्तरीतर्फ दोहोरो आउजाउका १० भन्दा बढी नाका छन् । यी सबै नाकाबाट अहिले दोहोरो आउजाउ खुलेको छ ।







