काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन उनी मंगलबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।
उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।
महानिरीक्षक अर्यालको साथमा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायव महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार तथा सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेल छन्।
२६ देखि २८ कात्तिकसम्म हुने बैठकमा सीमा अपराध नियन्त्रण, लागू औषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदान प्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य लगायतका विषयमा छलफल हुनेछ।
नेपाल-भारत बीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठकले दुवै देशको सीमा क्षेत्रमा शान्ति, सुरक्षा सुदृढीकरण, आपसी समन्वय र सहकार्यमा सहयोग पुग्दै आएको सशस्त्र प्रहरी बलले जनाएको छ ।







