ताप्लेजुङ । नेपालका ताप्लेजुङ जिल्ला र भारतको सिक्किम राज्यबीचको सीमा क्षेत्रमा संयुक्त अनुगमन, गस्ती तथा सीमा स्तम्भ मर्मत कार्य सम्पन्न गरिएको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको नेतृत्वमा नेपाली र भारतीय सुरक्षाकर्मीहरू सम्मिलित टोलीले सो कार्य सम्पन्न गरेको हो।
टोलीले सिदिङवा गाउँपालिका-१ र सिरीजंघा गाउँपालिका-८ अन्तर्गत पर्ने तिम्बुङपोखरी क्षेत्र र भारतको सिक्किम राज्यस्थित ग्याल्सिङ जिल्लाको लामपोखरी सीमाक्षेत्रमा स्थलगत अनुगमन गरेको थियो।

शनिबार सम्पन्न उक्त अनुगमनमा नेपालतर्फको सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त गस्ती गरी जीर्ण अवस्थामा रहेका सीमा स्तम्भहरूको मर्मतसमेत गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए।
मर्मत तथा गस्ती कार्य सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकको नेतृत्वमा सम्पन्न भएको थियो। उक्त टोलीले दशगजा क्षेत्रमा सरसफाइ अभियान पनि सञ्चालन गरेको थियो।

सीमा सुरक्षालाई थप प्रभावकारी, संयोजित र विश्वसनीय बनाउन सशस्त्र प्रहरी बल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजंघा, ताप्लेजुङको समन्वयमा गरिएको उक्त संयुक्त अनुगमनमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरू समेत सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी सेढाईंका अनुसार, सीमा सुरक्षासम्बन्धी यस्ता सहकार्य र संयुक्त क्रियाकलापहरू आगामी दिनहरूमा पनि निरन्तर रूपमा सञ्चालन गरिँदै जानेछ। उनका अनुसार, “नेपाल-भारतबीचको सीमा सुरक्षामा आपसी समन्वय र पारदर्शिता कायम रहँदा दुवै देशबीचको आपसी विश्वास अझ सुदृढ हुन्छ।”
यो संयुक्त अभियानलाई स्थानीय तह र सुरक्षा निकायहरूले सीमा सुरक्षाको दिगो संयन्त्र निर्माणतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।







