हेटौँडा । स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सूचना व्यवस्थापनका लागि प्रयोग हुने स्थानीय तह कर्मचारी सूचना प्रणालीको पूर्ण पहुँच आज बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र बागमती प्रदेश सरकारका प्रदेश सचिव बाबुराम गौतमबीच आज सोमबार राजधानी हेटौँडामा आयोजित एक समारोहमा समझदारी पत्र (सम्झौता पत्र) मा हस्ताक्षर भएको हो। यससँगै राष्ट्रिय किताबखानाले उक्त प्रणालीको सम्पूर्ण सञ्चालन अधिकार औपचारिक रूपमा बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको छ।
७,९९६ कर्मचारी प्रत्यक्ष लाभान्वित
यस प्रणालीको प्रयोगबाट बागमती प्रदेशभित्र रहेका ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल ११९ स्थानीय तहमा कार्यरत ७,९९६ जना कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
यसबाहेक, स्थानीय सेवाअन्तर्गतका “अन्य सेवा” का कर्मचारीहरू पनि क्रमशः प्रणालीमा आबद्ध हुने र लाभ पाउने बताइएको छ।
अब प्रदेश सरकार स्वयं प्रणाली सञ्चालन गर्न सक्षम
कर्मचारी समायोजन ऐन, २०७५ अनुसार तीनै तहमा कर्मचारीको खटनपटन भए पनि त्यसको सूचना व्यवस्थापन प्रणाली (कर्मचारी विवरण प्रणाली) को पहुँच हालसम्म राष्ट्रिय किताबखानाले मात्र प्रयोग गर्दै आएको थियो।
आजको सम्झौतापछि भने बागमती प्रदेश सरकार आफैँले प्रदेशभित्रका ११९ वटा स्थानीय तहमा कार्यरत स्थानीय सेवाका कर्मचारीहरूको विवरण तथा तथ्याङ्क स्थानीय स्तरमै व्यवस्थापन गर्न सक्ने भएको छ।
अन्य प्रदेशमा पनि विस्तार हुँदै
प्रशासनिक सङ्घीयताको मर्मअनुसार, यही हप्ताभित्र मधेस प्रदेश र कोशी प्रदेशसँग पनि यस्तै प्रकारको सम्झौता पत्रमा हस्ताक्षर गरिने तयारी भइरहेको राष्ट्रिय किताबखानाका महानिर्देशक पोखरेलले प्रशासनलाई जानकारी दिएका छन् ।







