काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारेका छन् ।
एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौँमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशीला कार्कीको सरकारलाई फेद न टुप्पोको आकाशबेली सरकार भएको टिप्पणी गरेका छन् ।
‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन हाँगा पनि छैन । एउटा पहेँलो लहरो हुन्छ नि एउटा, आकाशबेली जस्तै कहाँबाट पलायो कहाँबाट ?’ उनले प्रश्न गरे, ‘यो आकाशबेली सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेलाई पासपोर्ट रोक्का गर्छ । के काम गर्छ यसले ?’
उनले मर्नुपरे देशमा मर्ने, कतै नभाग्ने बताए ।
‘केपी ओली भागेर जान्छ ? मर्न परे यस देशमा मर्छ । सुकरात त्यसबेला भागेनन् । आजको केपी ओली भाग्छ । के सोचेको होला ?’ उनले भने, ‘आफूजस्तै ठानेर पासपोर्ट रोक्का । त्यस जमानामा सुकरात भागेका थिएनन् । उनको कुनै ठुलो राजनीतिक, समाज के के न बनाइहाल्छु भन्ने केही उद्देश्य पनि थिएन र पनि भागेका थिएनन् ।’
उनले प्रश्न गरे, ‘मैले अस्ति नै भनेँ यो हाहुमा बनेको गैर जिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक सरकारलाई अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ?’







