काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह जेन जेड आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।
उनी शुक्रबार काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयबागेश्वरीमा ब्रह्मा मन्दिर उद्घाटन कार्यक्रममा सहभागी भएका हुन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरीको गायत्री मार्गमा अवस्थित यो मन्दिर छैटौँ शताब्दीको पुरानो मानिन्छ । सन् १९९० सालअघिदेखि नै भग्नावशेषको रूपमा रहेको मन्दिरलाई अहिले काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरेको हो ।
केही दिनअघि मात्रै सो मन्दिरमा ब्रह्माको मूर्ति पुनर्स्थापना गरिएको थियो । सो ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशाला प्रहरी वृत्तमा थियो ।
मन्दिर उद्घाटन कार्यक्रममा मेयर बालेन साह, उपमेयर सुनिता डंगोल, डा. स्वामी केशवानन्द गिरी लगायतको उपस्थिति थियो ।







