काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सीटीइभीटीको १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेको थियो ।
सीटीइभीटीका अनुसार जलेका तथा नष्ट भएका उत्तरपुस्तिकाहरुको सम्बन्धित शिक्षण संस्थामा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको छ । परीक्षा ४ मंसिरबाट हुने बताइएको छ ।
सीटीईभीटीको कोशी र बागमती प्रदेश अन्तर्गतका डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको थियो । प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको हो ।
कोशी प्रदेशका ५ वटा परीक्षा केन्द्रमा २४ वटा शिक्षण संस्थाको र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रमा ८० वटा शिक्षण संस्थाको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । केही उत्तरपुस्तिकामा आंशिक क्षति पुगेको छ । कोशीका पाँच केन्द्रको उत्तर पुस्तिकामा नियमिततर्फ १ हजार ९३७ वटा र आंशिकतर्फ १ हजार ६५० गरी ३ हजार ५८७ वटा उत्तर पुस्तिका जलेको छ ।
बागमतीका १८ वटा केन्द्रको ११ हजार २०३ वटा गरी जम्मा १४ हजार ७९० वटा उत्तरपुस्तिका जलेको छ । एउटै विद्यार्थीको एकभन्दा बढी उत्तरपुस्तिका जलेको छ ।
अन्य स्थगित परीक्षाहरू मिति कात्तिक ३० देखि मंसिर ३ गतेसम्म पूर्व निर्धारित केन्द्रमा परीक्षा सञ्चालन गरिने छ ।
त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेको छ । त्रिविको स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार तीन वटा परीक्षा केन्द्रको उत्तरपुस्तिका जलेको छ ।
जलेकाको परीक्षा आगामी मंसिर ४ र ५ गते परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ ।







