काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नो ४०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा मिति २०८२ साउन २३ गते शुक्रबार प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयस्थित रुफटप हलमा सम्पन्न उक्त कार्यक्रम ४०औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमितिको तत्त्वावधानमा कविता प्रतियोगिता सञ्चालन उपसमितिले आयोजना गरेको थियो।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्य तथा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष र प्रतियोगिता सञ्चालन उपसमितिका संयोजक विष्णु आचार्य ‘अतृप्त’को अध्यक्षतामा सम्पन्न भएको थियो। प्रतियोगितामा विभिन्न भावभूमिका ४१ वटा कविताहरू प्राप्त भएका थिए।
निर्णायक मण्डलमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला, मधुपर्क साहित्यिक मासिकका सम्पादक त्रिभुवनचन्द्र वाग्ले र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी महासचिव शान्ति सापकोटा रहेका थिए।
प्रतियोगितामा अनिल पौडेलको ‘हतार’ कविताले प्रथम स्थान हासिल गर्न सफल भयो। सागर ज्ञवालीको ‘एक क्षण एक संसार’ र प्रकाश काफ्लेको ‘नभेटिएको म’ क्रमशः द्वितीय र तृतीय स्थानमा चयन भए। नारायण रेग्मीको ‘बिजुलीको तार’ र उमा न्यौपानेको ‘नेपालझैँ अधिक सुन्दर देश छैन’ कविताले सान्त्वना स्थान प्राप्त गरे।
कविता प्रतियोगिताको क्रममा विद्युतकर्मी साहित्यिक समाजको नियमित प्रकाशन ‘अमरज्योति साहित्यिक त्रैमासिक’ को ६७औँ अंक (वार्षिकोत्सव कविता विशेषाङ्क–२०८२) लोकार्पण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कुलप्रसाद कोइरालाले काव्य साधनालाई कर्म र सीपको संयोजन बताउँदै सबै भाषाको अध्ययनपछि मौलिक नेपाली भावनामा आधारित सिर्जनाको महत्त्वबारे विचार व्यक्त गरे। उनले विद्युतकर्मीहरू करेन्टसँग खेल्दाखेल्दै झड्का दिने खालका कविता लेख्न सक्षम भएको देख्दा खुशी लागेको बताए।
विशेष अतिथि तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले साहित्यमा नवरसको महत्त्व स्मरण गर्दै यस्ता कार्यक्रमहरूले कर्मचारीमा नयाँ उर्जा भरिदिने विश्वास व्यक्त गरे।
सभाध्यक्ष विष्णु आचार्य ‘अतृप्त’ले नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू भौतिक मात्र होइन, भावनात्मक ऊर्जा उत्पादनमा पनि अग्रसर रहेको भन्दै धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरू साथै विद्युतकर्मी साहित्यिक समाजका संस्थापक अध्यक्ष कुलप्रसाद पराजुली, पूर्व अध्यक्षहरू केशव रुपाखेती, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ र कृष्णदेव रिमाल ‘शब्दसेना’ लगायतले कविता वाचन गरे। अन्य स्रष्टामध्ये शिशिर थापा, राजन ऋषि कँडेल, तुलसी प्रसाद सापकोटा, लक्ष्मण मण्डल, विमल गुरुङ, र रीता खत्रीले पनि रचना वाचन गरे।
कार्यक्रममा ४०औँ वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक फणिन्द्रराज जोशी, सदस्य सचिव गोपाल प्रसाद पाठक, विद्युतकर्मी साहित्यिक समाजका पदाधिकारीहरू, प्राधिकरणका उच्च अधिकारी, ट्रेड युनियन प्रतिनिधि, पूर्वकर्मचारी, पत्रकार लगायत करिब १४० जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि र निर्णायक मण्डलका सदस्यहरूलाई कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, वार्षिकोत्सव मूल समारोह प्रबन्ध समितिका संयोजक दीर्घायु कुमार श्रेष्ठ र उपकार्यकारी निर्देशक तुलाराम गिरीले मायाको चिनो प्रदान गरे।
कार्यक्रममा सङ्गीता अधिकारी पौडेलले अतिथिहरूलाई स्वागत गरेकी थिइन् भने सञ्चालन विद्युतकर्मी साहित्यिक समाजका सचिव तथा कवि–गीतकार युवराज शर्माले गरेका थिए।







