काठमाडौँ । जिल्ला प्रहरी परिसरले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियु केन्द्रीय समितिले दिएको जाहेरी बुझ्न नसकिएको जनाएको छ ।
अखिलका पूर्वअध्यक्ष समिक बडाल, महासचिव दीपक धामी लगायत हिजो परिसरमै पुगेर जाहेरी बुझाएको थियो ।
उक्त जाहेरी दर्ता नगरी प्रहरीले २४ घण्टापछि जवाफ दिने बताएको थियो । परिसरका अनुसार, अखिलले बुझाएको जाहेरी केरमेट भएका कारण बुझ्न असहज भएको छ ।
अखिलले तीन वटा विषयलाई लिएर जाहेरी दिएको थियो । सार्वजनिक सम्पत्तिको तोडफोड, युवा हत्या र जासुसी गरिरहेको विषयलाई लिएर अखिलले जाहेरी दिएको बडालले बताएका छन् ।
उनका अनुसार, अहिले अखिलका केही विद्यार्थी नेताहरू फेरि परिसरमा पुगेका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएको थियो । उक्त जाहेरी पनि प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको थियो ।







