काठमाडौँ । सामाजिक सञ्जालमा हाल ‘एरेस्ट केपी ओली’ नामक अभियान तीव्र रूपमा चलिरहेको छ। जेनजेड आन्दोलनका अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुपर्ने मागसहित उक्त अभियान अघि सारेका हुन्।
गत भदौ २३ गतेको जेन जेड आन्दोलनका क्रममा राज्य पक्षबाट भएको दमनका कारण धेरै युवा घाइते भएका भन्दै उनीहरूले तत्कालीन सरकारका जिम्मेवार प्रतिनिधिहरूमाथि कानुनी कारबाहीको माग गरेका हुन् ।
जेन जेडकी अगुवा रक्षा बमले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहङ्कारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरुरी छ । मधेश विद्रोह हुँदा दुई चार दाना कुहिएका आँप झरेका हुन भन्ने अभिव्यक्ति दिने, सेपटेम्बर ८ को आन्दोलनमा निहत्था कलिला विद्यार्थीहरूमाथि गोली दाग्न आदेश दिने, एक व्यक्ति आज पनि जग हँसाउँदै चुट्किला सुनाएर बसिरहेको छ । हत्याराहरूलाई कारबाहीको दायरामा ल्याईयोस । ”
त्यस्तै, जेनजेड अभियन्ता युजन राज भण्डारीले रक्षा बमको उक्त पोस्ट सेयर गर्दै लेखेका छन्, “हरेक गोलीको हिसाब हुनेछ। एरेस्ट केपी ओली।”
यसैगरी जेनजेड आन्दोलनका नेता सुदन गुरुङले डु अर डाई फर दि नेशन, लेट दि ट्रेन विगेन… लेखेका छन् ।
जेन जेडका अन्य अभियन्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि यो ट्रेन्डलाई साथ दिई रहेका छन् । केही प्रयोगकर्ताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गर्नुपर्ने माग राखेका छन्।
उनीहरूका अनुसार, जेनजी आन्दोलनको पहिलो दिन राज्यले विद्यार्थीहरूमाथि गरेको गोली प्रहार र बर्बरतापूर्ण दमनको निष्पक्ष छानबिन हुनुपर्ने र तत्कालीन सरकारका प्रतिनिधिहरूलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने रहेको छ।







