काठमाडौँ । नेपालमा अध्ययन भिसा लिएर प्रवेश गरे पनि धर्म प्रचारप्रसारमा संलग्न रहेको आरोपमा तीन जना इण्डोनेशियाली महिलालाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ।
सन् २०२४ मा अध्ययन भिसा लिएर नेपाल प्रवेश गरेकी एक इण्डोनेशियाली महिलाले ललितपुरको धोबिघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाज नामक संस्थामार्फत छात्रावास सञ्चालन गर्दै मुस्लिम धर्मसँग सम्बन्धित शिक्षण र प्रचार गतिविधि गर्दै आएकी थिइन्। उनले दुई जना इण्डोनेशियाली महिलालाई शिक्षकका रूपमा राखी टर्कीस र कुरान भाषा सिकाउने काम गर्दै आएको विभागको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
विभागका अनुसार उक्त संस्थाले टर्कीमा अवस्थित साहा एगिटिम कुल्तुर भे दुस्तुलुक देरनेगी, साहा इन्टरनेशनल र बेलायतको एक धर्मप्रचारक संस्थाबाट प्रत्येक वर्ष करिब दुई करोड ५० लाख रुपैयाँ प्राप्त गर्दै आएको तथ्य पत्ता लागेको विभाग स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
नियन्त्रणमा परेकामध्ये एक महिलाले पर्यटक भिसा र अन्य दुई महिलाले अध्ययन भिसा लिएका थिए। विभागीय टोलीले गरेको जाँचमा सो छात्रावासमा करिब ५० जना छात्रालाई कुरान पढाइरहेको भेटिएको छ। ती छात्राहरू अन्य शैक्षिक संस्थामा अध्ययन नगरेको पाइएको विभागले जनाएको छ। यससँगै उनीहरूले ललितपुरकै ज्वागलमा केटाहरूका लागि छात्रावाससमेत सञ्चालन गरी विभिन्न जिल्लाका व्यक्तिलाई कुरान पढाउने र मुस्लिम धर्म प्रचारप्रसार गर्ने गतिविधि सञ्चालन गरेको जानकारीसमेत विभागले प्राप्त गरेको छ।
नेपालको कानुनअनुसार अध्ययन वा पर्यटक भिसामा आएका विदेशीले भिसाको उद्देश्य विपरित कुनै पनि काम गर्न पाउँदैनन्। अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ ले विदेशीलाई भिसाको उद्देश्य बाहेक अन्य क्रियाकलाप गर्न प्रतिबन्ध लगाएको छ। सो कानुनअनुसार गैरकानूनी रूपमा बसेका वा संलग्न विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि ५० हजार रुपैयाँसम्म जरिवाना र नेपाल प्रवेशमा प्रतिबन्धको कारबाही गर्न सकिन्छ।
अध्यागमन विभागले नियन्त्रणमा रहेका ती महिलामाथि थप अनुसन्धान भइरहेको र दोषी ठहर भए कानूनी प्रावधानअनुसार आवश्यक कारबाही गरिने जनाएको छ।







