काठमाडौँ । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीप्रति सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आफैँलाई फाइदा पुगेको निष्कर्ष सुनाएका छन् ।
बुधबार आफूलाई भेट्न कारागार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले आफ्नो उक्त निष्कर्ष सुनाएका हुन् ।
‘प्रचण्ड’का अनुसार, दुई दलले रास्वपालाई गरेको व्यवहारका कारण आगामी चुनावमा बल पुग्ने गरी फाइदा भएको विषयबारे लामिछाने जानकार छन् ।
‘राजनीतिक रूपले अहिले कांग्रेस–एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिएको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नुभएको रहेछ,’ ‘प्रचण्ड’ले भने, ‘कांग्रेस एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान् ?’
उनले आफू प्रधानमन्त्री हुँदा दुई पटकसम्म क्याबिनेटको गृहमन्त्री लामिछाने नै भएको र अभिभावकको हिसाबले पनि भेट्न पुगेको सञ्चारकर्मीसँग बताए ।
‘प्रचण्ड’सँग रविले अदालतले मागेको बिगो बुझाउँदा पनि किन नदिएको भन्दै गुनासो पोखेका थिए ।







