काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ का लागि पर्यटन विभागबाट शाखा अधिकृत गुणा राईलाई ‘उत्कृष्ट कर्मचारी’को रूपमा सम्मान गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको विभागमा साहसिक तथा पर्वतारोहण शाखामा कार्यरत राईले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक, समयमै र अनुशासित ढंगले सम्पन्न गर्दै सेवा प्रवाहमा लगनशीलता देखाएकाले सम्मानित गरेको विभागले जनाएको छ।
विभागले पहिलो पटक ‘उत्कृष्ट कर्मचारी’लाई पुरस्कृत गर्ने अभ्यास सुरु गरेको हो। यसबारे पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले भने, “कर्मचारीलाई उत्प्रेरणा होस् र सहकर्मीहरूले यसलाई प्रेरणाका रूपमा लिउन् भन्ने उद्देश्यका साथ यो अभ्यास सुरु गरेका हौँ।”
निजामती सेवा ऐन र सुशासन ऐनमा समेत उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न व्यवस्था रहेको छ।







