काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकमा बोल्दै उनले विधेयकलाई उच्च प्राथमिकताका साथ समितिमा छलफल गरिरहेको पनि बताए ।
हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरण विधेयक एक अर्कासँग सम्बन्धित रहेकाले उच्च प्राथमिकताका साथ छिटो समितिबाट टुंगो लगाउन जरुरी रहेको पनि बताए ।
‘हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक यो एक अर्कासँग सम्बन्धित छ । दुई वटै विधेयक एक अर्काका परिपूरक हुन्,’ उनले भने, ‘संरचना बाहेक अरू उस्तै उस्तै छ । यसलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने विषय हो । छिटोका नाममा दुर्घटना नहोस् ।’
दुई वटै विधेयक एक अर्काका परिपूरक भएको पनि उल्लेख गरे । विधेयकलाई छिटो र प्रभावकारी रूपमा अघि बढाउन समिति क्रियाशील रहेको बताए ।
‘यो विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको छ । यही गतिका साथ पास गर्ने गरी तयारी गर्नुपर्यो भन्ने कुरा आएपछि हामीले यसलाई निरन्तर उच्च प्राथमिकताका साथ राखेका छौँ,’ उनले भने ।
समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको हो ।







