काठमाडौँ । लामो समयदेखि आर्थिक संकटले सेवा प्रभावित भइरहेको बयालपाटा अस्पताल भदौ १ देखि सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने भएको छ ।
विषेशज्ञसहित सबै सेवा नि: शुल्क दिइरहेको यो अस्पताल १७ वर्षदेखि न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय दातृ संस्थाको सहयोगमा सञ्चालन भइरहेको हो ।
विदेशी दाताले अस्पताललाई गर्ने आर्थिक सहयोग बर्सेनि घटाउँदै लगेपछि केही वर्षयता अस्पतालले आर्थिक संकट बेहोर्नु परेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले आफू मातहत बयालपाटा अस्पताललाई ५० शय्या राखेर सञ्चालन गर्न गठन आदेश तयार भइसकेको सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए ।
स्वास्थ्य सेवा ऐन-२०७५, सुदूरपश्चिम प्रदेश स्वास्थ्य नीति-२०७८, प्रदेश सरकार सञ्चालन कार्यविधि-२०७७ जस्ता कानुनी आधारमा गठन आदेश तयार गरेर पहिलो चरणको काम सकिएको उनले बताए ।
मन्त्रालयका सचिवको संयोजकत्वमा ओएनएम (अर्गनाइजेस्नल म्यानेज्मेन्ट स्टक्चर) संगठनात्मक व्यवस्थापन संरचनाको लागि समिति पनि गठन भइसकेको छ ।
७० प्रतिशत बयालपाटा अस्पतालभित्रका कर्मचारीबीच प्रतिस्पर्धा गराउने र बाहिरबाट ३० प्रतिशत कर्मचारी ल्याउने गरी तयारी भइरहेको उनले बताए ।
मन्त्री खड्काका अनुसार ५० शय्याको अस्पतालको लागि सुरक्षागार्ड, कार्यालय सहयोगीदेखि विशेषज्ञ जनशक्ति गरी १ सय ५० जना कर्मचारीको दरबन्दीका लागि प्रक्रिया अघि बढेको छ ।
अहिले बयालपाटा अस्पतालमा कार्यरतभन्दा १० जना बढी मेडिकल अफिसर, ८ जना विशेषज्ञ चिकित्सक, स्टाफ नर्सको संख्या थपिने छ ।
सरकारी संयन्त्रबाट सञ्चालनबाट भएका अन्य अस्पताल मेडिकल सुपरिटेन्डेन्ट मोडेलबाट चलेकोमा बयालपाटा अस्पताल ११ औँ तहको कार्यकारी निर्देशकको मोडेलबाट सञ्चालन गर्न लागिएको उनले बताए ।







