काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षमा नेपालको निर्यात ऐतिहासिक रूपमा उच्च बिन्दुमा पुगेको दाबी गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्ट्याटस लेख्दै उनले नेपालको निर्यातमा उल्लेखनीय वृद्धि भएको बताएका हुन्।
प्रधानमन्त्री ओलीका अनुसार हालसम्म २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। यो तथ्याङ्क सार्वजनिक गर्दै उनले आफ्नो नेतृत्वको सरकारले निर्यात प्रवर्द्धनका क्षेत्रमा विशेष ध्यान दिएको दाबी गरे।
“हामी सरकारमा आउनुअघि अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो,” ओलीले लेखेका छन्, “गत वर्षको तुलनामा यस वर्ष निर्यातमा ८१.८० प्रतिशतको वृद्धि भएको छ।”







