काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार ईश्वरकुमार गिरीसहित तीन जना कर्मचारीलाई पदीय जिम्मेवारीबाट हटाएर विभागीय कारबाही प्रक्रिया अघि बढाउन मुख्यसचिव एकनारायण अर्यालले निर्देशन दिएका छन्। उनले उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतलाई तत्काल आवश्यक कारबाही अघि बढाउन भनेका हुन्।
काठमाडौँको नयाँ बानेश्वरस्थित एक कफी शपमा गिरीले खटाएका दुईजना अधिकृत-रविन कार्की र भीमप्रसाद पराजुलीले आफूलाई ‘भित्री सूचना’ दिने भन्दै पत्रकारलाई नगद घुस दिन खोजेको समाचार प्रकाशित भएपछि मुख्यसचिव अर्यालले उक्त कदम चालेका हुन्।
मुख्यसचिवको निर्देशनसँगै प्रशासन महाशाखाका कर्मचारीलाई बोलाएर संलग्न तीनै जनाको पत्र तयारी भइसकेको र आफू मन्त्रालयका लागि निस्किसकेको उद्योग सचिव राउतले बताए। केही बेरमै आवश्यक प्रक्रिया पूरा गरी कारबाही थालिने बताउँदै सचिव राउतले प्रशासन सिंहदरबार विशेष ब्युरोलाई भने, “मुख्यसचिवज्यूले तुरुन्तै स्पष्टीकरण सोधेर विभागीय कारबाही प्रारम्भ गर्न निर्देशन दिनु भएको छ।”
कम्पनी रजिष्ट्रार गिरीले पनि मन्त्रालयबाट बोलावट भएको र आफू अहिले त्यतै जान लागिरहेको बताएका छन्।
कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीहरू सेवाग्राहीसँग खुलेआम घुस लिने कार्यमा संलग्न रहेको विषयमा समाचार प्रकाशित भएपछि मुख्यसचिव अर्यालले कडा छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका थिए।
त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले उद्योग सचिव राउतलाई तीन दिनभित्र दोषी कर्मचारीहरूको पहिचान गरी विभागीय कारबाहीसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए। सोही अनुसार उद्योग मन्त्रालयले सहसचिव छविन्द्र पराजुलीको संयोजकत्वमा छानबिन तथा सिफारिस समिति गठन गरेको थियो।
समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका कर्मचारीहरूलाई अन्यत्र सरुवा गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। सरुवा गरिएका मध्ये घुस दिन खोज्ने भनिएका दुईजना अधिकृत—रविन कार्की र भीमप्रसाद पराजुली—समेत परेका छन्।
मुख्यसचिव अर्यालले भने, “सेवाग्राहीसँग पैसा उठाउने र त्यसलाई ढाकछोप गर्न पत्रकारलाई नै प्रभावित पार्ने प्रयास कुनै हालतमा क्षम्य हुँदैन। सञ्चारकर्मीहरूलाई धन्यवाद दिन चाहन्छु, जसले यस्तो कार्यलाई उजागर गर्न सहयोग गरे।”
उनले यस्ता अनियमितता नियन्त्रणमा सञ्चारकर्मीहरूको भूमिकालाई उच्च सम्मान दिँदै भने, “मिडियाबाट यस्ता विषय सार्वजनिक हुँदा राज्यलाई कारबाही गर्न सजिलो हुन्छ, र सेवा प्रवाहमा ढिलासुस्ती गर्ने तथा अतिरिक्त लाभ खोज्ने कर्मचारीलाई तत्काल कारबाही गर्न सकिन्छ।”
मुख्यसचिव अर्यालले सार्वजनिक कार्यक्रमहरूदेखि सचिव स्तरीय बैठकसम्म सेवा प्रवाहमा सुधार ल्याउन बारम्बार निर्देशन दिँदै आएका छन्। कतिपय ‘कामचोर’ र ‘भ्रष्ट प्रवृत्ति’का कर्मचारीहरूकै कारण सिङ्गो कर्मचारीतन्त्र बदनाम बन्दै गएको र त्यसले नागरिकमा समेत व्यापक असन्तुष्टि बढाएको भन्दै उनले गलत गर्ने कर्मचारीलाई ‘अन दि स्पट’ कारबाही गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।







