काठमाडौँ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले सवारी नियम उल्लंघन गरी सञ्चालन भएका सवारीसाधनबाट एक वर्षमा १७ करोड ८३ लाख ८३ हजार ४११ रुपैयाँ जरिवाना असुल गरेको छ।
यो आर्थिक वर्ष २०८०/८१ को भन्दा ४१ लाख ४५ हजार ९१६ रुपैयाँ बढी आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक सुरक्षा, दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री सेवा विस्तार र कानुनी कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको कार्यालयले जनाएको छ।
राजश्व असुलीसँगै ट्राफिक सचेतनामूलक कार्यक्रम, सवारी साधनको चेकजाँच, नक्कली चालक अनुमतिपत्र नियन्त्रण, ट्राफिक उपकरणको प्रयोग विस्तार र छाडा चौपाया व्यवस्थापनजस्ता अभियान सफलतापूर्वक सञ्चालन गरिएको जनाइएको छ ।
कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका १२ वटै जिल्लामा गरिएको जाँचको क्रममा सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार ८० वटा सवारीसाधनबाट उक्त जरिवाना असुल गरिएको जानकारी दिएका छन् ।







