काठमाडौँ । कुलिङ अफ पिरियड सम्बन्धमा भएको त्रुटि छानबिन गर्न बनेको जीवन परियार नेतृत्वको समितिले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ।
सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा बुधबार खतिवडासँग समितिले झण्डै २ घण्टा सोधपुछ गरेको हो।
सोधपुछपछि पत्रिकाहरूले खतिवडालाई ‘सांसदहरूको कठघरामा कस्तो लाग्यो’ भन्ने प्रश्न गरेका थिए।
‘म आफै सांसद हुँ। सभापतिको हिसाबले मैले नै छानबिन गर्नुपर्छ भनेर समिति बनाएको हो’, जबाफमा खतिवडाले भने, ‘कठघरा होइन, छलफल हो।’
राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा अवकाश भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष अवधि पर्खनुपर्ने व्यवस्था गरेको थियो।
जसलाई बोलीचालीको भाषामा कुलिङ पिरियड भनिन्छ। तर समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पारित भएपछि कुलिङ पिरियडसँग बाझिने गरी पुरानो विधेयकको व्यवस्था कायमै राखिएको भेटिएको थियो।
सांसदहरुले यसलाई षड्यन्त्रका रूपमा अर्थ्याउँदै आएका छन्। सांसदहरुले छानबिनको माग गरेपछि सभामुख देवराज घिमिरे प्रतिनिधि सभाबाटै छानबिन गर्न विशेष समिति बनाएका थिए।







