काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले काँग्रेस-एमाले गठबन्धन सरकारको एक वर्षे कार्यकाल मिश्रित रहेको बताएका छन्।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद महतले स्रोत साधनको सीमितताको कारण सबै अपेक्षाहरू पूरा हुन नसकेको बताएका हुन्।
यद्यपि, निजी क्षेत्रलाई चलायमान बनाउन आवश्यक पाँच वटा कानून संसद्बाट पारित हुनु सरकारको सफलता भएको उनको दाबी छ।
उनले कानून निर्माणमा सरकारले गति बढाएको भए पनि डेलिभरी दिने कुरामा चुकेको बताए। सेवा प्रवाहमा ढिलासुस्ती, झमेला र लेनदेनजस्ता समस्याहरू कायमै रहेको उल्लेख गर्दै यस विषयमा सरकार गम्भीर हुन जरुरी रहेको उनको भनाइ थियो।
सरकारले आफ्नो संयन्त्र बलियो बनाएर कर्मचारीहरूलाई जनता र देशलाई केन्द्रमा काम गर्ने वातावरण बनाउन जरुरी रहेको बताए।







