काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले देश परिवर्तनका लागि सुरुमा राजनीति सुधार्न आवश्यक रहेको बताएकी छिन् ।
सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियानका क्रममा शनिबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
‘यो देशमा कायापलट गर्नुपर्ने छ भने पहिला राजनीतिलाई सुधार्नुपर्ने छ । राजनीति सफा गर्न पक्कै पनि जनमतले मात्रै सफा गर्न सक्छ,’ सांसद गौतमले भनिन्, ‘शक्तिशाली कोही छ भने केवल जनता मात्रै छ । रास्वपाले चेतना बाँडिरहेको छ ।’
उनले अब आउने निर्वाचनमा हरेक नेपालीलाई मतसँग जोडेर देश परिवर्तनको अभियानमा जोडिनका लागि पनि ऊर्जाशील बन्नुपर्ने बताइन् ।
देश बनाउन नेताकै जति योगदान नागरिकको हुने पनि बताइन् ।
‘एक जना साथीले भन्दै हुनुहुन्थ्यो, यो देश सतिले सरापेर बिग्रिएको हो भनेर । यो देश सतिले सरापेर बिग्रेको होइन, नेपाली जनताले गलत व्यक्तिलाई निर्वाचित गराएका कारण बिग्रिएको हो । सही व्यक्तिलाई जिताउनका लागि एक मतको पनि महत्त्व हुन्छ,’ सम्बोधनको क्रममा उनले भनिन् ।
उनले सभापति रवि लामिछानेलाई झुटा मुद्दा लगाएर दबाउने प्रयास भइरहेको पनि बताइन् । नयाँ दल उदाएसँगै राजनीतिमा पुरानाहरूको बोलवाला हराउने देखेपछि सभापति लामिछानेविरुद्ध राज्यसत्ता नै लागेको उनको भनाइ थियो ।
‘आज रास्वपा सभापति रवि लामिछानेलाई दबाउने किसिमले झुटा मुद्दाको प्रयोग गरेर, कानुनको दुरुपयोग गरेर कारागारमा राखिएको छ,’ सभापति लामिछानेले भने, ‘नयाँ उदयमान पुस्ता, रवि लामिछानेको नेतृत्वमा बनेको पार्टीले जसरी जनताको मन जितिरहेको छ, अहिले सत्तामा बसेर गरिरहेको रजगज सबै सकिन्छ भनेर उहाँहरूले मुद्दा लगाइरहनुभएको छ ।’
नखाएको विष पनि लाग्छ भनेर देखाउन सरकार यो हदसम्म गिरेको उनको टिप्पणी थियो ।
‘एउटा व्यक्तिलाई हराउनका लागि यति साह्रो राज्य संयन्त्र लाग्छ भन्ने कुरा मैले देखेको थिएन,’ सांसद गौतमले भनिन् ।
‘राणाकालीन समयमा बोल्न पाइँदैन थियो । त्यसपछि पनि यस्ता धेरै घटना घटे । हिजो नेपाली नागरिकलाई बोल्न दिएन भनेर यो व्यवस्थाका लागि नेपाली जनतालाई जगाएका थिए,’ गौतमले भनिन्, ‘हिजो उनीहरूले बोलेका कुराहरू कहाँ गए ? यदि व्यवस्था परिवर्तन भएको हो भने जनताको मन जित्छु भनेर विचार स्थापित गर्छु भनेर लागेको मान्छेलाई किन थुन्नुपर्यो ?’
हरेक नेपालीले रविलाई पटक पटक जेलमा राख्नुलाई राजनीतिक प्रतिशोधको रूपमा हेरेको पनि बताइन् । उनले हस्ताक्षर अभियान केवल रास्वपाको मात्रै नभई देशकै रहेको बताइन् । साथै, उनले अभियानमा उत्साहजनक सहभागिता भएको बताउँदै अझै तीन महिना लम्बिन सक्ने बताइन् ।







