काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आगामी असोज १ र २ मा पावर समिट २०२५ गर्ने भएको छ ।
इप्पानले ‘मिसन २८५०० मेगावाट : पावरिङ नेपाल, इनरजाइजिङ रिजन’ नाराका साथ दुई दिने पावर समिट आयोजना गर्न लागेको हो ।
सम्मेलनले सम्बन्धित क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गरी नीतिगत बहस, हासिल भएका सफलता तथा उपलब्धि र अनुभवहरूको आदानप्रदान गर्ने जनाएको छ । सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य हासिल गर्न निजी क्षेत्रको जिम्मेवारी र दायित्व रहेको इप्पानले जनाएको छ ।
समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व र नेपालस्थित भारतीय दूतावास देशीय साझेदारी रहने छ । यो पावर समिट सन् २००६, २००७, २००८, २०१२, २०१३, २०१६, २०१९ र २०२३ पछिको नवौँ संस्करण हो । ऊर्जा विकास मार्ग चित्र, २०८१ को सफल कार्यान्वयनमा सहयोग पुर्याउन र नेपालको बढ्दो उत्पादनलाई क्षेत्रीय बजारमा व्यापार गर्न/गराउन ३० भन्दा धेरै देश सहभागी हुनेछन् ।







