काठमाडौँ । बाँकेको बैजनाथ ३ स्थित नौबस्तामा रहेको बाल सुधारगृह र कारागार कार्यालयको बाँकेका प्रमुख जिल्ला अधिकारी र अधिकारकर्मीको टोलीले संयुक्त रूपमा अनुगमन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम समेतको टोलीले नौबस्ता कारागार र बाल सुधारगृहको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा थुना व्यवस्थापन, कैदी बन्दीका आधारभूत मानवअधिकारका उपभोगको अवस्था लगायतका सवालमा छलफल गरेको थियो । अनुगमनका क्रममा कैदीबन्दी र कानुनी विवादमा परेका बालकहरूद्वारा आफूलाई परेका अप्ठ्यारा र समस्या सम्बोधनको पहल गर्न अनुगमन टोलीलाई अनुरोध गरेका थिए ।
अनुगमन टोलीले नौबस्तास्थित बाल सुधारगृहको पछिल्लो अवस्था, सुधारगृहको व्यवस्थापन र बालकहरूका गुनासाका सम्बन्धमा सुधार गृहका कर्मचारी र कानुनी विवादमा परेका बालकहरूसँग छलफल गरी जानकारी लिएका छन् ।
बाल सुधारगृह नौबस्तामा हाल १६९ जना विभिन्न मुद्दामा कानुनी विवादमा परेका बालकहरू रहेका छन् । तीमध्ये अधिकांश बालक जबरजस्ती करणीको कानुनी विवादमा परेका छन् ।







