काठमाडौँ। काभ्रेको रोशी गाउँपालिका-९ स्थित नार्केमा लेदोसहित खसेको पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा यातायात एकतर्फी खुलेको छ ।
वर्षापछि सडक माथिबाट खसेको लेदोको कारण बीपी राजमार्गको रोशी गाउँपालिका-९ नार्केमा सडक अवरुद्ध भएको थियो ।
सोमबार साँझ ५ बजेबाट अवरुद्ध भएको सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको सहयोगमा एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सडक अवरुद्ध भएपछि तराईबाट आएका एम्बुलेन्स लगायत सवारी साधन रोकिएका थिए । सडक एक तर्फी खुलाएर एम्बुलेन्स र रोकिएका सवारीहरू पास गराएपछि सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।
विशेष गरी बीपी राजमार्ग जोडिएका ग्रामीण सडकबाट बग्ने लेदोको कारण राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ । यसअघि पनि धुलिखेल ११ पात्लेखेतमा राजमार्ग अवरुद्ध भएको थियो ।







