कागेश्वरी मनोहरा नगरपालिका सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्त्व बोकेको क्षेत्र हो। यस नगरपालिकाले पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद र स्थानीय उत्पादनको प्रवद्र्धनमा प्राथमिकता दिँदै विकासलाई अघि बढाइरहेको छ।
काठमाडौँ उपत्यकाको उत्तरपूर्वी किनारमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिका राजधानीको कोलाहलबाट केही टाढा भए पनि प्रकृति, संस्कृति र विकासको संगमस्थलका रूपमा उदाउँदै छ। धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्त्वले भरिपूर्ण यो नगर अहिले विकासको नयाँ यात्रामा पाइला चाल्दै छ।
नगरपालिकाका अनुसार, इतिहास, संस्कृति, सम्पदा र सभ्यताको संरक्षण, सम्वर्द्धन र प्रवद्र्धन गर्दै आधुनिक पूर्वाधारयुक्त सुरक्षित तथा सुव्यवस्थित शहर निर्माणलाई प्राथमिकतामा राखिएको छ। शहरी सौन्दर्यीकरण र शहरी सुरक्षा कार्यक्रमलाई पनि विशेष महत्त्वका साथ अघि बढाइँदै छ। पछिल्ला वर्षहरूमा नगरपालिकाले स्थानीय उत्पादनमा जोड दिएको छ भने ती उत्पादनको बजारीकरणका लागि समेत पहल गरेको छ।
नगरको समग्र आर्थिक वृद्धि र आत्मनिर्भरता अभिवृद्धिका लागि कृषि, घरेलु उद्यम र सीपमूलक व्यवसायहरूलाई प्राथमिकतामा राखिएको छ। हालै सार्वजनिक गरिएको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि स्वास्थ्य, शिक्षा, उत्पादन र पूर्वाधार विकासलगायतका विषयहरूलाई विशेष प्राथमिकता दिइएको छ।
नगरपालिकाको परिचय
कागेश्वरी मनोहरा नगरपालिका विविध धार्मिक, सांस्कृतिक र प्राकृतिक स्रोतहरूको पहिचान बोकेको छ। भौगोलिक हिसाबले समतल जमिनदेखि शिवपुरी लेकसम्मको अवस्थितिमा रहेको छ।
यस नगरपालिकाको क्षेत्रभित्र मुख्य धार्मिक तथा ऐतिहासिक स्थलहरूमा कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठ भैरव मन्दिर, सिमतिरथ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर, सिद्धकाली मन्दिर, महाकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी–देवता र गुम्बाहरू रहेका छन्। त्यसैगरी, यस नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरू बागमती र मनोहरा हुन्।
औसत १,७०० मिलिमिटर वर्षा हुने यस नगरपालिकाको पूर्वतर्फ रहेको मनोहरा फाँट र पश्चिमतर्फ रहेको बागमती फाँट कृषि उपजका लागि महत्त्वपूर्ण मानिन्छन्। यहाँका महत्त्वपूर्ण कृषि उत्पादनहरूमा धान, गहुँ, मौसमी तथा बेमौसमी तरकारी र गोलभेँडा खेती रहेका छन्।
यस क्षेत्रबाट बग्ने नदी तथा खोलाहरूको पानीबाट सिँचाइ सुविधा उपलब्ध गराउन सके कृषि क्षेत्रको व्यवसायीकरण हुन गई जनताको जीवनस्तरमा थप सुधार हुने सम्भावना छ। कृृषि पकेटका रूपमा चिनिएको यो नगरपालिका पर्यटन व्यवसायका लागि पनि अब्बल मानिएको छ।
यी हुन् पालिकाले गरेका असल अभ्यासहरू
खानेपानी तथा ढल व्यवस्थापन: कागेश्वरी मनोहरा नगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापनमा जनसमुदायको सक्रिय सहभागिता बढाएको छ। पालिकाको उपभोक्ता समितिसँगको समन्वयमा मुहान संरक्षण तथा सरसफाइ कार्य तीव्र गतिमा अघि बढ्नुका साथै रिचार्ज पिटलगायतका संरचनाहरूको निर्माणले खानेपानीको सञ्चितिकरणमा टेवा पुगेको छ।
एससीएडी प्रणालीजस्ता आधुनिक प्रविधिहरूको प्रयोगसँगै खानेपानी सेवालाई थप प्रविधिमैत्री बनाउने प्रयास गरिएको छ भने पानीको गुणस्तरको नियमित अनुगमन र शुद्धीकरण प्रविधिको विस्तार गरिएको पालिकाले जनाएको छ।
खानेपानी आयोजनाहरूमा उपभोक्ताहरूको सक्रिय सहभागिताले सामुदायिक स्वामित्व बढ्ने, स्थानीय रोजगारी सिर्जना हुने, पारदर्शिता वृद्धि हुने साथै संरचनाहरूको दीर्घकालीन संरक्षण र मर्मत हुने जस्ता प्रभाव देखिएका छन्। पानीको गुणस्तरको नियमित अनुगमन र शुद्धीकरणका उपायहरू अवलम्बनले जनस्वास्थ्यमा सुधार आएको छ।
रिचार्ज पिटको निर्माणले भूजल रिचार्ज गर्न, खानेपानीको स्रोत संरक्षण गर्न, सडकमा पानी जम्ने वा बग्ने समस्या हटाउन मद्दत पुगेको छ। पाइपलाइन तथा अन्य संरचनाहरूको नियमित मर्मतसम्भारले खानेपानी वितरणमा देखा पर्न सक्ने अवरोध कम हुँदै गएको छ। वृक्षारोपण तथा मुहान संरक्षणले खानेपानीको स्रोतलाई दिगो, भरपर्दो र वातावरणमैत्री बनाउन सहयोग गरेको छ।
कृषि: नगरपालिकाले कृषक समूह तथा कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गर्नुका साथै कृषकका लागि अनुदान कार्यक्रममा रुचि बढेको र उत्पादन तथा उत्पादकत्वमा वृद्धि भएको जनाएको छ।
स्थानीय निकायमा कृषि शाखाप्रति कृषकको प्रभावकारिता बढेको छ। घरायसी प्रयोजनका लागि कौसी खेती र स्वास्थ्यवर्द्धक तथा प्राङ्गारिक तरकारी उत्पादनमा कृषकहरूले अग्रसरता देखाएका छन्। कृषि सूचनाका माध्यमहरूको प्रयोगमा कृषकहरू सशक्त भएका छन् भने स्थानीय स्रोतसाधनको प्रयोग गरी जैविक विषादीको प्रयोग गरिरहेको पालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार, पछिल्लो समय व्यावसायिक कृषि कार्यक्रममा कृषकको पहुँच बढेको छ। प्राविधिक जानकारीको विस्तारले कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि भएको छ। अनुदानमूलक कार्यक्रमले युवा पुस्तालाई कृषिमा प्रेरित गरेको छ।
रोजगार: नगरपालिकामा सूचीकृत बेरोजगारहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सङ्घीय सरकारको सशर्त अनुदानमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रूपान्तरणमा विशेष पहल गरिएको छ।
विगतमा सङ्घीय सशर्त बजेटबाट मात्र सञ्चालित सरसफाइजन्य योजनाहरूले सीमित रोजगारी सिर्जना गरेकोमा हाल स्थानीय स्रोतबाट सामग्री खरिद गरी पूर्वाधार निर्माणका योजनाहरू सञ्चालन गर्न सम्भव भएको पालिकाले जनाएको छ।
विपद् न्यूनीकरण: स्थानीय विपद् व्यवस्थापन समिति गठन गरी योजनाबद्ध काम सुरु गरिएको छ। स्कूल, टोल विकास समिति र समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै आगलागी नियन्त्रणका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राखिएको छ।
पालिकाले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नेलाई प्रोत्साहन गरेको छ। पहिरो रोकथामका लागि पर्खाल, नाला र वृक्षारोपणलाई प्राथमिकतामा राखी कार्य गरिएको छ।
स्थानीय र सङ्घीय निकायहरू, नेपाल रेडक्रस, सुरक्षा निकाय, गैरसरकारी संस्था (एनजीओ/आईएनजीओ) सँग समन्वय गरी जनताको सेवामा कार्य गरिरहेको पालिकाले जनाएको छ। पूर्वसूचना प्रणालीको विकासमा मौसम पूर्वानुमान र सचेतना प्रणालीको विस्तार हुँदै गएको छ। विपद्सम्बन्धी कार्यक्रमहरूबाट स्थानीय रोजगारी र स्रोतको भरपूर उपयोग भएको छ।
प्रशासन तथा जनशक्ति व्यवस्थापन: पालिकाले आफ्नै कार्यालयबाट एकीकृत सेवा सञ्चालनको थालनी गरी सेवाग्राहीहरूलाई एकै ठाउँबाट सेवा प्रदान गर्दै सन्तुष्टि फाराममार्फत पृष्ठपोषण लिने गरेको छ। दैनिक रूपमा विद्युतीय हाजिरी अद्यावधिक गरी हाजिरी प्रणालीलाई चुस्त र दुरुस्त राखिएको छ।
यस नगरपालिकाभित्र रहेका सङ्घ/संस्थाहरूको दर्ता तथा नवीकरण गरी सफ्टवेयरमा अभिलेख राखिनुका साथै ‘घ’ वर्गको निर्माण व्यवसाय इजाजतपत्र प्राप्त व्यवसायहरूको अभिलेख सफ्टवेयरमा राख्ने कार्य गरिएको छ। एकीकृत सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीहरू सन्तुष्ट भएका छन् भने ई–हाजिरीबाट हाजिरी विवरण तुरुन्तै प्राप्त गर्न सकिने अवस्था छ।
संस्था र निर्माण व्यवसाय इजाजतपत्रको अभिलेख सफ्टवेयरमा राखिएकाले विवरण तुरुन्तै प्राप्त गर्न सकिने व्यवस्था पालिकाले मिलाएको छ।
सहकारी तथा उद्यम विकास: पालिकाले सहकारी बचतकर्ताहरूको उजुरी सुनुवाइ गरी करिब ५० लाख रकम फिर्ता गरेको जनाएको छ। कृषि र बहुउद्देश्यीय सहकारीहरूले सिताके च्याउ खेती, दुग्ध उत्पादन र अन्य उत्पादनमा पालिकाले सहजीकरण गरेकाले नागरिकहरू त्यसमा संलग्न भएका छन्।
उद्यमशीलताको क्षेत्रमा मखमली चप्पल, अचार, चुरा–पोते, प्रविधि हस्तान्तरण, स्तर उन्नति तालिम स्थानीय नागरिकलाई प्रदान गरिनुका साथै स्यानिटरी प्याड उद्योग स्थापना गरिएको छ।
छिमेकी पालिकाहरूमा नगर प्रहरी बलले सञ्चालित असल अभ्यास कार्यक्रमहरूलाई आफ्नो पालिकामा लागू गरिएको छ। नागरिकलाई सहजताका लागि घरदैलो सेवामार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको छ, जसले लाभग्राहीहरूलाई खुसी बनाएको पालिकाले जनाएको छ।
शिक्षा र स्वास्थ्यमा सुधारको पाइला
“हामी सबैको इच्छा: संस्कारयुक्त गुणस्तरीय शिक्षा” भन्ने नारालाई आत्मसात् गरी पालिकाले शिक्षामा पहुँच, समता, गुणस्तर, सान्दर्भिकता, उत्थानशीलता र संस्थागत सक्षमता अभिवृद्धि गर्ने नीति लिएर कार्यान्वयन गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र असल अभ्यासका आधारमा शिक्षा क्षेत्रको सुधारलाई प्रभावकारी बनाइएको छ। नगरको शैक्षिक सुधारका लागि आवश्यक कानुनी, नीतिगत, संस्थागत र व्यवस्थापकीय सुधार गरिएको छ।
सबै विद्यालयमा आवश्यक सङ्ख्यामा शिक्षक र कर्मचारीको सुनिश्चितता गरिनेछ। पालिकामा रातो बङ्गला फाउन्डेसनसँगको साझेदारीमा प्रारम्भिक बाल कक्षामा सञ्चालित सार्थक बाल सिकाइ कार्यक्रमलाई कक्षा ३ सम्म विस्तार गर्न नगरपालिका, रातो बङ्गला स्कूल र रातो बङ्गला फाउन्डेसनबीच सम्झौता भएको छ। सबै विद्यालयहरूको कक्षाकोठा व्यवस्थापनमा सुधार, शिक्षकको क्षमता अभिवृद्धि र सिकाइ सामग्रीको व्यवस्था गरी बालमैत्री कक्षाकोठा र सार्थक सिकाइको व्यवस्था मिलाइने छ।
सङ्घ, प्रदेश सरकार र अन्य सङ्घसंस्थाको सहयोगमा विद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ। “सबै विद्यार्थी सिक्न सक्षम छन् र विद्यार्थीलाई सफल बनाउनु हामी सबैको कर्तव्य हो” भन्ने मान्यतालाई व्यवहारमा उतार्न आर्थिक वर्ष २०८१/८२ मा सुरु गरिएको ‘अ’ वर्गीकृत ग्रेड उन्मूलन अभियानबाट विद्यार्थीको नतिजामा सकारात्मक प्रभाव परेको छ। यो अभियानलाई अभिभावक, विद्यालय र नगरपालिकाको सहकार्यमा थप प्रभावकारी बनाइने छ।
मानिसको जन्मदेखि मृत्युसम्मका हरेक चरणमा स्वास्थ्य सेवा सुनिश्चित गर्न “कोखदेखि सोखसम्म” स्वास्थ्य सेवा सञ्चालन गर्ने नीति पालिकाले लिएको छ। “मेयरसँगै ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम” मार्फत ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार र स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गरिएका छन्।
आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि “मेयर घरदैलो स्वास्थ्य कार्य” मार्फत घरदैलो/समुदायमा सेवा प्रवाह गरिनेछ। महिलाहरूको प्रजनन स्वास्थ्यलाई प्राथमिकतामा राखी पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्याको पहिचान र स्क्रिनिङका लागि “उपमेयरसँग महिला प्रजनन स्वास्थ्य सेवा” कार्यक्रम सञ्चालन गर्ने नीति छ।
नगर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार विस्तार, विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्यकर्मीको समुचित व्यवस्था गरी आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिनेछ। शल्यक्रिया कक्षको निर्माण गरी सेवा सञ्चालन गरिनेछ।
“विद्यालय स्वास्थ्य कार्यक्रम” मार्फत सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्य प्रवद्र्धनात्मक क्रियाकलाप सञ्चालन गरिनेछ। सर्वव्यापी पहुँच र नागरिकको मौलिक हकको सुनिश्चितताका लागि सबै वडाहरूमा गाउँघर क्लिनिक विस्तार गरी ज्येष्ठ नागरिकको चेकजाँच, परिवार नियोजन, गर्भजाँच र सुत्केरी सेवाको पहुँच विस्तार गरिनेछ।
पारदर्शी सेवा, जनमुखी नगरपालिकाको पहिचान
पालिकाले सेवा प्रवाह, कामकारबाही र विकास निर्माण गतिविधिमा नियमित रूपमा सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षण गरिरहेको छ। जनतालाई सेवामा सहजता प्रदान गर्न कर्मचारी विवरण सूचना प्रणाली सफ्टवेयरमा अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिई चुस्त र दुरुस्त बनाइने योजना छ।
वडा नं. ७ कार्यालयको सेवालाई आइएसओ गुणस्तरमा कायम गरी सेवा प्रवाह हुँदै आएकोमा नगरपालिका कार्यालय र अन्य वडाहरूको सेवालाई पनि गुणस्तरयुक्त बनाइने छ।
नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरूलाई विषयविज्ञताको आधारमा आवश्यकता अनुसार क्षमता अभिवृद्धि तालिम प्रदान गरिनेछ। कर्मचारीको अनुभव, रुचि र विज्ञताको आधारमा कार्यजिम्मेवारी दिइनेछ।
वडा नं. ७ मा अङ्ग्रेजीबाट गरिने दर्ता सिफारिस सफ्टवेयरमार्फत गर्ने सुरुवात भएकाले यो कार्यलाई अन्य वडाहरूमा पनि विस्तार गरिनेछ। समग्र नगरपालिका प्रशासनलाई सुशासनयुक्त, सेवाग्राहीमैत्री र गुनासोरहित सेवा प्रवाहको व्यवस्था मिलाई शून्य सहनशीलता नीति अवलम्बन गरिनेछ।
वडाहरूबाट प्रदान गरिने सेवा र विकास निर्माण गतिविधिलाई प्रभावकारी बनाउन कार्यविधिहरू निर्माण गरी क्रमशः अधिकार प्रत्यायोजन गरिनेछ। यसका लागि आर्थिक अधिकार पनि क्रमशः प्रत्यायोजन गरिनेछ।
नगरपालिका क्षेत्रभित्र औषधि पसल, दूध र मासुजन्य व्यवसाय, फलफूल र तरकारी, खाद्यान्न, स्वास्थ्य क्लिनिक, विभिन्न उद्योग, व्यवसाय र सेवा व्यवसायहरूको गुणस्तर, मूल्य सूची र वातावरणीय प्रभावलाई ध्यानमा राखी नियमित अनुगमनको व्यवस्था मिलाउन स्थायी प्रकृतिको बजार अनुगमन शाखा गठन गरिएको छ। यो शाखामार्फत सङ्घीय कार्यालयहरूको सहयोगमा अनुगमन कार्य प्रभावकारी बनाइएको छ।
महिला, बालबालिका र सामाजिक समावेशीकरण
पालिकाले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई संस्थागत गर्दै समावेशी विकासको प्रवद्र्धन गर्न महिला समूह/समितिलाई सक्रिय बनाउँदै महिलाहरूको सशक्तीकरण र समावेशीकरणका लागि गृहिणी महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गर्नेछ। उद्यम व्यवसायमा संलग्न महिला व्यवसायीहरूको व्यवसाय प्रवद्र्धनका लागि व्यावसायिक महिला समूह निर्माण र व्यवसाय स्थापना तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ।
लैङ्गिकतामा आधारित सबै प्रकारका हिंसालाई निरुत्साहित गर्न हिंसाविरुद्ध सामाजिक अभियान सञ्चालन गरिनेछ। जातीय भेदभावविरुद्ध सचेतना र विपन्न दलित सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
ज्येष्ठ नागरिकलाई सम्मान: “सम्मानित ज्येष्ठ नागरिक हाम्रो अभियान” अन्तर्गत सबै ज्येष्ठ नागरिक संलग्न संस्थाहरूलाई सक्रिय बनाउँदै ज्येष्ठ नागरिक र उनका परिवारमा सचेतनामूलक अन्तरक्रिया, दिउँसो सेवा केन्द्र सञ्चालन, दिउँसो खाजा कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान र सीप हस्तान्तरणका कार्यक्रम सञ्चालन गरिनेछ।
अपाङ्गता भएका व्यक्तिहरूको सम्मानित र सहज जीवनयापनका लागि परिवार र समुदाय सचेतना कार्यक्रम, सहायक सामग्री वितरण, संरक्षण र सम्वर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ।
बालश्रममुक्त वडा र नगर घोषणालाई निरन्तरता दिँदै २०८२ मा कम्तीमा ४ वटा वडालाई बालश्रममुक्त बनाइनेछ। विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरूको उद्धार र संरक्षण गरिनेछ। “बालबालिकाहरूको सवाल बालबालिका कै जवाफ” भन्ने नाराका साथ बाल समूह संस्थालाई सक्रिय बनाई बाल संरक्षण, सम्वर्द्धन र प्रवद्र्धनका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्न आवश्यक व्यवस्था गरिएको छ। सहयोगापेक्षी सडक मानव र सडक बालबालिकारहित नगर निर्माण गर्न सम्बन्धित संस्थासँग समन्वय गरी कार्यक्रम अघि बढाइनेछ।
पालिकाको कर अभियान: “तिरेर कर, समृद्ध बनाऔँ हाम्रो नगर”
नगरपालिकाले निजी क्षेत्र, सामुदायिक सङ्घसंस्था, टोल विकास समिति र नागरिकको सहभागितामा करदाता अभिमुखीकरण र कर सङ्कलन अभियान सञ्चालन गरिरहेको छ। करको दर कम गरी दायरा विस्तार गरेको छ। कर सहभागिता अभिवृद्धिका लागि करदाताको प्रोफाइल निर्माण, कर शिक्षा र उत्कृष्ट करदातालाई सम्मान गर्ने गरिएको छ।
राजस्व छली नियन्त्रण गर्न अनुगमन र निरीक्षण संयन्त्र स्थापना गरी निरीक्षण कार्य प्रभावकारी रूपमा सञ्चालन गरिएको छ। दर्ता नभएका उद्योग र व्यवसायहरूलाई दर्ता र सूचीकरणमा प्रोत्साहन गरिएको छ। पटक–पटक ताकेता गर्दा पनि दर्ता नभएका व्यवसाय र उद्योगलाई कानुनअनुसार सजायको व्यवस्था गरिएको छ।
नगरपालिकाको समग्र राजस्व वृद्धिका लागि राजस्व सुधार कार्ययोजना बनाई कार्यान्वयन गर्ने मुख्य उद्देश्य छ। सम्पत्ति करलाई पूर्वानुमानयोग्य बनाउन नगर क्षेत्रका घर र संरचनाहरूलाई भू–उपग्रह प्रणालीमार्फत डिजिटल लगत राख्ने व्यवस्था गरिएको छ।
स्थानीय कर र गैरकरलाई सूचना प्रविधिको माध्यमबाट पारदर्शी र सेवाग्राहीमैत्री बनाउने योजना छ। यो योजनालाई छिट्टै कार्यान्वयनमा ल्याइने छ। आन्तरिक आय वृद्धिका लागि घुम्ती टोली परिचालन गरी राजस्व असुली अभियानलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ। समयमा कर तिर्ने बानीलाई प्रोत्साहन गर्न पहिलो चौमासिकसम्म कर तिर्ने करदातालाई कर राजस्वका केही शीर्षकमा १० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिइनेछ। प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको निश्चित हिस्सा वातावरण संरक्षण र व्यवस्थापनमा खर्च गरिनेछ।
सामाजिक सुरक्षा र पञ्जीकरण
“कोही नछुटून्, कोही नदोहोरिऊन्” भन्ने नारालाई कार्यान्वयन गर्न र सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्न सामाजिक सुरक्षा लाभग्राहीहरूको आर्थिक वर्ष २०८२/८३ को सामाजिक सुरक्षा भत्ता प्रणाली सक्रिय बनाउन साउन १ देखि भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरिनेछ। यो कार्यक्रम वडा नं. १ देखि वडा नं. ९ सम्म तोकिएका स्थानहरूमा सञ्चालन हुनेछ।
सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूले नेपाल सरकार वा सरकारबाट मान्यताप्राप्त सङ्घसंस्थाबाट नियमित तलब, भत्ता, पेन्सन वा अन्य मासिक सुविधा प्राप्त गरे/नगरेको पहिचान गरी राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ। दोहोरो सुविधा लिएको पाइएमा लगत कट्टा गरी भुक्तानी गरिएको सामाजिक सुरक्षा भत्ता असुल गरिनेछ। अशक्त र अपाङ्गता भएका लाभग्राहीहरूलाई बायोमेट्रिक नवीकरण र सामाजिक सुरक्षा भत्ता वितरणका लागि घर–घरमा सेवा प्रदान गरिनेछ।
नगरपालिकाको आन्तरिक स्रोतबाट खर्च व्यहोरिने गरी जनप्रतिनिधिका लागि घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम र कर्मचारीहरूका लागि प्रशिक्षण सञ्चालन गरिनेछ। सामाजिक सुरक्षा र पञ्जीकरण शाखामा कार्यरत एम.आई.एस. अपरेटर र फिल्ड सहायकको तलब, भत्ता र सञ्चार खर्च उपलब्ध गराइनेछ।
सूचना र प्रविधिको अधिकतम प्रयोग गरी सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको पहुँच अभिवृद्धि गरिनेछ। सामाजिक सुरक्षा लाभग्राहीहरूको तथ्याङ्क अभिलेखीकरणलाई भरपर्दो, विश्वसनीय र चुस्त बनाउन व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता प्रणालीलाई नगरपालिकाको तथ्याङ्क प्रणालीमा आबद्ध गरी डाटाबेस सिस्टम लागू गरिनेछ।
अन्त्यमा
कागेश्वरी मनोहरा नगरपालिका राजधानी छेउको सानोतिनो नगर होइन। यो भौगोलिक, धार्मिक, प्राकृतिक र सम्पदाले भरिपूर्ण नगर हो, जसले समावेशी विकासको मोडल प्रस्तुत गर्दै छ। पालिकाले विगतमा थुप्रै प्रमुख परियोजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ। पछिल्लो समय यो नगरपालिका एउटा उदाहरणीय स्थानीय तह बन्दै छ, जहाँ संस्कार, सम्भावना र सङ्कल्पको संगम देखिन्छ।







