काठमाडौँ। हेटौँडा उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका योजनालाई व्यवस्थित गर्न आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ ।
हेटौँडा उपमहानगरपालिकाको मंगलबार १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मिनाकुमारी लामाले आगामी आवबाट आयोजना बैंक कार्यान्वयनमा ल्याउने बताएकी हुन् ।
उनले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंकको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताएकी छन्।
आगामी आवमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ ।
युवा लक्षित कृषि कार्यक्रम सञ्चालन, प्रांगारिक मलको प्रयोगलाई प्रोत्साहित गर्ने र एक वडा, एक कृषि उत्पादन कार्यक्रममा १३ मा मेवा खेती र वडा नं. १ कोदो खेती कार्यक्रमलाई निरन्तरता आगामी आवमा पनि निरन्तरता दिइने भएको छ ।
उनले स्वच्छ उत्पादनशील समृद्ध सहर हेटौँडा भन्ने सोचको आधारमा नीति तथा कार्यक्रम ल्याइएको बताइन् ।
२०८१/०८२ मा आन्तरिक स्रोत, राजस्व बाँडफाँड र संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा अपेक्षा अनुसार वृद्धि नहुँदा कतिपय महत्त्वपूर्ण योजना र कार्यक्रम कार्यान्वयन गर्न नसकेको भन्दै उनले हेटौँडा १० को निर्माणाधीन एकीकृत बस टर्मिनलसहितको सपिङ कम्प्लेक्स निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याइने बताइन् ।
यस्तै, अनलाइन नक्सा प्रणाली कार्यान्वयनमा ल्याइने, हेटौँडा ४ मा बहुउद्देश्यीय तथा व्यावसायिक भवन निर्माण भएको ढिलाइ र अन्यौलताको कानुन सम्मत निकास निकाली भवन निर्माण प्रक्रिया अगाडि बढाइने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ ।
यसैगरी, रोजगार सेवा केन्द्रलाई प्रभावकारी बनाई बेरोजगार व्यक्तिलाई सिप सिर्जना माध्यमबाट रोजगारमा जोड्ने र स्थानीय सामुदायिक पूर्वाधार मर्मत सम्भारलगायतका श्रममूलक कार्यमा संलग्न गराई लक्षित वर्गको जीवनस्तरमा सुधार ल्याइने नीति लिइने भएको छ ।
नगर प्रमुख लामाले वडा नं. १३ र १६ का नगर अस्पताललाई संघ र प्रदेश सरकारको समन्वय र सहकार्यमा आवश्यक पूर्वाधार विकास गरी स्वास्थ्य बिमासहितको अस्पतालको रूपमा विकास गरिने बताइन् ।
पालिकाको स्रोत वृद्धि गर्न करका दायरका विस्तार गर्ने नीति आगामी आवमा उपमहानगरपालिकाले लिने भएको छ ।
पर्यटन प्रवर्धनलगायतका साझा सरोकारका कार्य गर्न अन्तरपालिका समन्वय सञ्जाललाई कार्यविधि बनाई कार्यान्वयन व्यवस्थित गरिने नगर प्रमुख लामाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बताइन्।







