काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक र शंकरदास वैरागीमाथि प्रश्न उठाउँदै रास्वपाले कडा धारणा प्रस्तुत गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हिजो सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा गठन गर्न लागिएको छानबिन समितिलाई अस्वीकार गर्ने बताए। उनले यो प्रकरण गम्भीर कुशासन र राजनीतिक प्रकृतिको भएको भन्दै लुट, संगठित भ्रष्टाचार र मानव तस्करीको कुरा रहेको बताए।
उनले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको र आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र भएको टिप्पणी गरे। उनले भने, “उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ। त्यस्तो व्यक्तिले कसरी छानबिन गर्नेरु यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ।”
स्वर्णिम वाग्लेले थप भने, “विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ। ७ वर्ष परराष्ट्र सचिव बन्नुभयो, तीन वर्ष मुख्यसचिव बन्नुभयो र रहस्यमय ढंगले उहाँको मुख्यसचिवबाट बहिर्गमन हुन्छ। राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ। त्यसपछि उहाँ एक–दुई दिनमा अवकाश हुन लागेका अर्का मुख्यसचिव आउनुहुन्छ। त्यो समयमा दशौं करोड, अरबौँको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरू भएका छन्। त्यसैले शंकरदास वैरागी अहिलेका निगाहप्राप्त नेताहरूको गुडबुक्समा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ। उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। उहाँ स्वयं सक्षम निकायहरूको राडारमा हुनुहुन्छ।”
रास्वपा नेताको यो कडा धारणा र शंकरदास वैरागीको संलग्नता तथा गृहमन्त्रीमाथि उठेका प्रश्नले प्रकरण थप जटिल बनेको देखिन्छ।







