काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत १४ कर्मचारीको सरुवा गरेको छ। सरुवा हुनेमा ९ जना नायब सुब्बा (नासु), एक जना सहायक कम्प्युटर अपरेटर र चार जना कम्प्युटर अपरेटर छन्।
‘सेटिङ’मा संलग्न भएको भन्ने गुनासो र उजुरीका आधारमा मन्त्रालयले यो सरुवा गरेको हो। प्रशासन सिंहदरवार विशेष ब्युरोले प्राप्त गरेको विवरणअनुसार नायब सुब्बाहरू खुब राज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, दत्त लामालाई जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई गोरखा, तेज राज गौतमलाई बागलुङ, सुवास केसीलाई रुकुम पश्चिम र कुवेरप्रसाद दाहाललाई धनकुटा सरुवा गरिएको छ।
त्यस्तै, नायब सुब्बाहरू प्रमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा नरबहादुर थापालाई बाँके पठाइएको छ।
यसैगरी, सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठ र कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्यायलाई कारागार व्यवस्थापन विभाग वा त्यसअन्तर्गत सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
पटक–पटक प्राप्त गुनासो र उजुरीका कारण उनीहरूको सरुवा गरिएको बताइएको छ। यसैबीच, बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुखसहित केही कर्मचारीलाई पक्राउ गरी सोधपुछपछि बोलाइएको समयमा उपस्थित हुने सर्तमा छाडेको थियो।