काठमाडौँ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरवारमा जेठ ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको जानकारी दिए ।
यस्तै बैठकले नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूहअन्तर्गत मेडिकल उपसमूहका एक जना महासेनानीको पदावधि थप गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
यस्तैगरी नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदिको बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाइ व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।