काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरे लगत्तै ओलीले आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।
सोमबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीको स्वास्थ्य अस्वस्थताका कारण स्थगित भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा सरकारका नियमित कार्यसँगै केही नियुक्ति र बढुवासम्बन्धी निर्णय हुने सम्भावना छ। सिफारिस समितिको बैठक बसेर निर्णय भएमा आजै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना रहेको बताइएको छ।
आज बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकको उपस्थितिमा प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच छलफल भएको थियो। स्रोतका अनुसार उक्त भेटमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट, संसद्लाई प्रभावकारी बनाउने र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। नेपाल राष्ट्र बैंकमा गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ।
गभर्नर नियुक्तिमा भएको ढिलाइबारे काँग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीका कारण नभएको बताएका छन्। उनले राष्ट्र बैंकभित्रैको समस्याका कारण नियुक्तिमा ढिलाइ भएको उल्लेख गरेका छन्। देउवाका अनुसार प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मेवारी काँग्रेसलाई दिएका छन्। गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा केही असमझदारीको चर्चा चले पनि बालुवाटारमा दुई शीर्ष नेताबीच नियमित भेटघाट र छलफल जारी छ।