काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक आह्वान गरेका छन्। यो उनले पहिलो पटक समितिको बैठक बोलाएका हुन्।
अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार समितिको बैठक आज अपराह्न ४ बजेपछि बस्ने तय भएको छ। पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे सदस्य छन्।
यसअघि मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकबीच छलफल भएको थियो। सोही छलफलपछि पौडेलले उक्त बैठक आह्वान गरेका हुन्।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैङ्कको गभर्नर पद रिक्त रहेको छ। अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुङ्गानालाई कायममुकायम गभर्नरको जिम्मेवारी सुम्पेका थिए। सभापति देउवाले गभर्नरका लागि प्रा.डा. विश्व पौडेलको नाम प्रस्ताव गरेका छन्।
गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र त्यसैका आधारमा मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ।