काठमाडौँ । जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आइपिओ) को प्रक्रियामा धितोपत्र बोर्डले कमिसन मागेको आरोपपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन तीव्र पारेको छ। अख्तियारले बुधबार धितोपत्र बोर्डको कार्यालयमा छापा मारी आइपिओ निष्कासन प्रक्रियामा रहेका ८९ कम्पनीका फाइल नियन्त्रणमा लिएको छ।
धितोपत्र बोर्ड स्रोतका अनुसार अख्तियारका अधिकारीले बुधबार दिउँसो बोर्डको कार्यालय पुगेर ती कम्पनीका सम्पूर्ण फाइल कब्जामा लिएका हुन्। आइपिओ निष्कासनमा आर्थिक अनियमितता र कमिसन माग भएको समाचार सार्वजनिक भएपछि अख्तियारले यो कदम चालेको बोर्ड स्रोतले बतायो। फाइल नियन्त्रणमा लिएसँगै अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले धितोपत्र बोर्डले आइपिओ प्रवर्द्धकहरूसँग कमिसन माग गरेको खुलासा गरेका थिए। उनका अनुसार सुरुमा ३ प्रतिशत कमिसन मागिएकोमा पछिल्लो समय ५ देखि ७ प्रतिशतसम्म माग भएको थियो।
यो विषय संसद्मा समेत उठेको छ। प्रवर्द्धकहरूले बोर्डले २२ महिनादेखि आइपिओ निवेदन रोकेर कमिसन माग गरेको आरोप लगाएका छन्।