काठमाडौँ । मानव बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका-२मा बस्ने २४ वर्ष रोजन भुजेल रहेका छन् ।
प्रहरीका अनुसार उनले हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाइदिने भनी प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले दुई जना युवती भारततर्फ लैजाँदै गरेको अनुसन्धानमा खुलेको छ ।
पर्सा वीरगञ्जमा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दुई जना युवतीहरूलाई रोकी आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले सोमवार साँझ पक्राउ गरेको हो ।
भुजेललाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







