काठमाडौँ । ६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याले सम्मान गरेका छन् ।
वैशाख २१ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जवान जंगमलाई सम्मान तथा बधाई दिएका हुन् ।
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरूमा खोज तथा उद्धार गर्न सक्ने जनशक्तिको विकासमा तथा उत्तरी सिमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको र मनाङ जिल्लामा रहेको पर्वतीय उद्धार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्धार गर्न सक्ने जनशक्ति उत्पादनको लागि तालिम सञ्चालन गरिरहेको बताए ।
सशस्त्र प्रहरी जवान जंगमले वैशाख १४ गते बिहान ७ बजेर १२ मिनेटको समयमा लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए । उनी लोबुचे हिमाल आरोहणका लागि यही वैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
यो सँगै जंगम सशस्त्र प्रहरी बल नेपालमा हिमाल आरोहण गर्ने दोस्रो व्यक्ति भएका छन् । यसअघि सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले सगरमाथा आरोहण गरेका थिए ।