वीरगञ्ज । सर्वोच्च अदालतले वीरगञ्जका मुख्य सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने सडकको सिमाकंन गरिदिन नापी कार्यालय पर्सालाई पत्राचार गरेको छ ।
सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले यही चैत ८ गते नापी कार्यालयलाई पत्र लेखेर त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोक-पावर हाउस-घण्टाघर-विर्ता-रजतजयन्तीचोक-मितेरी पुलसम्मको सडकमा २५/२५ मिटरको सीमा क्षेत्र सिमाकंन गर्नुपर्ने भएकाले सोही बमोजिम गरी सडक सम्पत्ति संरक्षण गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरेको हो ।
डिभिजन प्रमुख अधिकारीले सर्वोच्च अदालतको पूर्णपाठ आउनु अगावै सडक विस्तार हुँदा प्रभावित हुने घर, टहराको विवरण संकलन गर्न नापी कार्यालयलाई सिमाकंनका लागि अनुरोध गरिएको बताए । “सर्वोच्च अदालतले रिट खारेज गरेपछि सडक विस्तारका लागि आवश्यक पर्ने तंथ्याक संकलन गर्न, सिमाकंन गर्न लागेका छौँ”, उनले भने, “सर्वोच्च अदालतको पूर्णपाठ हेरेपछि मात्रै सडक विस्तार अघि बढ्ने कामको सुरुवात गरिनेछ । यसले सडक विस्तारबाट हुने प्रभावित घरधुरीको यकिन विवरण संकलन थालिएको हो ।”
डिभिजन प्रमुख अधिकारीले सडकको सिमाकंनका लागि तीन महिनाको अवधि लाग्न सक्ने अनुमान गरे “हामीले नापी कार्यालयलाई पत्राचार गरिसक्यौँ । अब उहाँहरूले कति समय लगाएर यकिन विवरण संकलन गर्नुहुन्छ”, उनले भने ।