काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायण धामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।
नारायण पोखरेल प्रतिष्ठानले नागार्जुन नगरपालिका-७ रामकोटमा बनाएको बद्रीनारायण धामको प्राण प्रतिष्ठा कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘सगरमाथाको काखमा ऋषिहरूले तपस्या गरेको पवित्र भूमि नेपालमा पर्यटन प्रवर्द्धनका लागि यस्ता धामहरूको ठूलो सहयोग रहन्छ, संस्कृतिको रक्षा गर्न यस्ता कार्यक्रमले सहयोग पुग्छ,’ उनले भने।
मन्त्री पाण्डेले नारायण पोखरेलले आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा गरेको योगदान र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए। उनले पोखरेलले देखाएको बाटो फैलिँदै गएको उल्लेख गरे।
भारतको उत्तराखण्डस्थित बद्रीनाथ धामका अध्यक्ष दर्शन भारतीले रामकोटको बद्रीनारायण धाम नेपालको मौलिक धाम भएको बताए। ‘भारतको बद्रीनाथ धाम जान नसक्ने दर्शनार्थीका लागि यही बद्रीनारायण धामको दर्शन गर्नुहोस्,’ उनले भने।
उनले भारतबाट पशुपतिनाथ दर्शन गर्न आएका पर्यटकलाई पनि रामकोटको बद्रीनारायण धामको दर्शन गर्न आग्रह गरे। नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक तथा अध्यक्ष वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले चार धाममध्ये एक धाम नेपालमा छ भन्ने सन्देश दिन बद्रीनारायण धाम बनाइएको जानकारी दिए।
स्व. नारायण पोखरेल आध्यात्मिक क्षेत्रबाट मुलुकको विकासमा सक्रिय थिए। उनले भौतिक विकासबिना समृद्ध मुलुक बन्न नसक्ने मान्यता राख्थे। विसं २०११ जेठ ३२ मा गोरखाको बगुवामा जन्मिएका पोखरेलको विसं २०६२ वैशाख २३ मा रुपन्देहीको रामापुरमा हत्या भएको थियो। उनी नेपालका पहिलो धार्मिक सहिद पनि हुन्। उनलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो।
पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गरेका थिए। उनको निधनपछि विसं २०६४ असोज २३ मा स्थापित नारायण पोखरेल प्रतिष्ठानले उनको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ।
उक्त धाममा बद्रीनारायण मन्दिरका साथै प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर बन्नेछ।