काठमाडौँ । सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा नम्बर ५ मा महायज्ञ गर्ने नाममा दलित अछुत हुन्छ भन्दै दिपक मल्लिकको घर डोजरले भत्काएर उठिबास गराएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले बताए ।
सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको एसपी पण्डितले बताए ।
अगामी चैत १७ गतेदेखि महायज्ञ सुरु हुने भनिएको छ । महायज्ञ स्थलमा रहेको मल्लिकको घरमा फाल्गुन १० गते डोजर लगाएर बजरंगी बाबाको सल्लाहमा गापा अध्यक्ष यादवले भत्काएका थिए । साथै त्यहाँको माटो समेत अछुत भएको भन्दै दुई फिट माटो समेत हटाएको आरोप पनि लागेको छ ।