काठमाडौँ । नेपाल वन प्राविधिक संघले वन प्राविधिक परिषद् गठन गर्नका लागि पैरवी गर्ने भएको छ । संघको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राकेश कर्णले परिषद् गठन गर्न पहल गर्ने भावी योजना रहेको बताए ।
अध्यक्ष कर्णले भने, “वनजन्य उत्पादनको दिगो व्यावसायिकीकरण गर्ने, वन संरक्षणमा नवीनतम प्रविधि प्रयोग गर्दै ‘डिजिटल’ मापन प्रणालीको विकास गर्ने, जलवायु अनुकूल वन व्यवस्थापनका नीति तथा कार्यक्रम प्रवर्द्धन गर्ने तथा वन क्षेत्रका प्राविधिकको पेसागत सुरक्षाका लागि नीतिगत पैरवी गर्ने हाम्रो भावी योजना छ ।”
संघ २०३१ सालमा स्थापना भई नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । संघले वन क्षेत्रका प्राविधिकको क्षमता विकास, सशक्तीकरण गर्दै, वन, वातावरण तथा जैविक विविधता संरक्षणको क्षेत्रमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गरे ।
संघले नेपालको वन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न विज्ञानमा आधारित वन व्यवस्थापन प्रणालीको अवधारणा, अभ्यास र नीति निर्माणमा सक्रिय भूमिका खेलेको छ । साथै सरकारी नीति निर्माण प्रक्रियामा महत्त्वपूर्ण परामर्श प्रदान गर्दै, सामुदायिक वन, साझेदारी वन, कबुलियती वन र व्यावसायिक वन व्यवस्थापनलाई प्रवर्द्धन गरिरहेको अध्यक्ष कर्णले बताए ।
संघले वन तथा वातावरण संरक्षणमा प्रभावकारी नीति निर्माणका लागि सरकार, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै आएको छ । संघले वन क्षेत्रका प्राविधिकलाई आधुनिक प्रविधिसँग अभ्यस्त गराउँदै, संघले निरन्तर क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।







