काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा दफावार छलफल गर्न काँग्रेस सांसद दिलेन्द्र बडूको संयोजकत्वमा उपसमिति गठन गरेको छ।
समितिको शुक्रवार बसेको बैठकले बडूको संयोजकत्वमा ११ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए । सबै दलको प्रतिनिधित्व रहेको उक्त टिममा विधेयकका विवादित विषय टुंग्याएर छिटोभन्दा छिटो प्रतिवेदन पेस गर्ने गरी उपसमिति बनाइएको खतिवडाले बताए ।
यी हुन् उपसमितिमा समावेश भएका सांसदहरू
खतिवडाका अनुसार बडूको संयोजकत्वमा गठन गरिएको उपसमितिलाई विज्ञसँग बसेर छलफल गरिने भएको छ । यस्तै आन्तरिक रूपमा पनि बसेर टुंग्याउन भनिएको छ। उपसमितिमा सांसदहरू अशोक राई, ईश्वरी देवी न्यौपाने, चन्दा कार्की भण्डारी, दिलेन्द्र बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य छन्। उक्त उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्न समयसीमा दिइएको बताइएको छ ।