हरेक वर्ष १३ फेब्रुअरीलाई विश्व रेडियो दिवसका रूपमा मनाउने चलन छ। सन् २०११ मा युनेस्को सदस्य राष्ट्रहरूले प्रस्ताव गरे बमोजिम सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउँदै आइरहेको पाइन्छ ।
जलवायु परिवर्तन आजको जल्दो बल्दो मुद्दा हो। जलवायु परिवर्तन र यसको प्रभावहरूको बारेमा विश्वभर सघन रूपमा चर्चा परिचर्चा हुँदै गएका छन। यिनै समसामयिक मुद्दालाई सम्बोधन गर्नलाई नै होला, युनेस्कोले यस वर्षको विश्व रेडियो दिवसको नारा “रेडियो र जलवायु परिवर्तन” तय गरेको छ । जलवायु परिवर्तनका क्रियाकलापहरूलाई सम्बोधन गर्न सक्न रेडियो एउटा बहु आयामिक शक्तिशाली साधन हो जसको माध्यमबाट संसारभरका नागरिकलाई सरल तरिकाबाट जलवायु परिवर्तनको कारण र उत्पन्न समस्यालाई न्यूनीकरण गर्ने योजनाबद्ध सामग्री र उपायहरू उत्पादन गरी प्रसारण गर्न सकिन्छ ।
१९ औँ शताब्दीको अन्त्यतिर अझ भनौँ सन् १८९५ देखि नै जब रेडियोको उत्पत्ति भयो रेडियोले समग्र मानव समुदायको हितमा सूचना समाचार प्रवाह गर्ने, जनचेतना फैलाउने र मनोरञ्जन दिने कार्यलाई प्राथमिकताका साथ प्रसारण गर्दै आइरहेको देखिन्छ । रेडियो प्रसारणको प्रविधि पनि विगतदेखि वर्तमानसम्म समसामयिक रूपमा परिवर्तन हुँदै आएको पाइन्छ एएम प्रविधिबाट सुरु भएको रेडियोको प्रसारण सेवा, एफएम प्रविधि हुँदै डिजिटल प्रविधिसम्म पुगिसकेको छ। सूचना प्रविधिको आजको युगमा टेरेस्ट्रियल टेक्नोलोजी, इन्टरनेटको माध्यमबाट डिजिटल टेक्नोलोजी र डिजिटल प्लेटफर्म मार्फत रेडियो प्रसारण सेवा विश्वका जुनसुकै ठाउँमा पनि पहुँच पुर्याउन सकिने अवस्थामा विकसित भइरहेको छ।
रेडियो चाहे अमेरिकाको होस युरोपको, अफ्रिकाको होस वा एसियाको यसको मुख्य कार्य विगतदेखि वर्तमान सम्म यी तीनै विषयमा केन्द्रित छ । फगत प्रविधिको परिवर्तनले माध्यम कहिले भुसतही त कहिले डिजिटल हुँदै २१ औँ शताब्दी सम्म आइपुग्दा केबल बोल्ने र सुन्ने रेडियो मात्र नभएर हेर्ने रेडियो र पढ्ने रेडियोका रूपमा पनि विकास भैसकेको छ।न्यारोकाष्टीङ,ब्रोकाष्टीङको अलावा पोडकाष्टिङ, डिजिटल/इन्टरनेट/अनलाइन रेडियोहरू, रेडियो प्रसारणका पछिल्लो विकसित रूपहरू हुन् ।
विश्व रेडियो दिवसले रेडियो र जलवायु परिवर्तन विषयको महत्वलाई उजागर गर्न खोजेको देखिन्छ । युनेस्कोका अनुसार विश्व रेडियो दिवस मनाउनुका उद्देश्यहरूमा रेडियोहरूको आवश्यकताको अनुभव गराउनु, आम जनसमुदायलाई रेडियो प्रसारक संस्थाहरू बीच सहयोग र समन्वय स्थापना गर्नु, नीति निर्माताहरुलाई आवश्यक जानकारीहरूको पहुँच उपलब्ध गराउन प्रोत्साहित गर्नु, प्राकृतिक प्रकोप र महामारीको बेला जीवन बचाउन, आपत्कालीन सूचना सन्देश प्रवाह गर्नु, समृद्ध समुदाय निर्माणका लागि स्थानीय बोली, जनचेतना र संस्कृतिको आदानप्रदान गर्नु, शिक्षा स्वास्थ्य र वातावरण सम्बन्धी जनचेतना विकास गर्नु, हरेक समाजका विविधतालाई पस्कनु तथा समाजमा रेडियोको ऐतिहासिक महत्त्व र प्रभावलाई कायम राख्नु आदि मुख्य छन्। रेडियोले समाजका हरेक तह र तप्काका जनसमुदायको आवाज प्रतिनिधित्व गर्न र सकारात्मक परिवर्तनका लागि पहल गर्दै आएको इतिहास छ।यस अर्थमा पनि यो वर्षको विश्व रेडियो दिवसको नारा जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई सामना गर्दै विश्वव्यापी रूपमा सचेतना फैलाउन सार्थक देखिन्छ।
युनेस्कोले जलवायु परिवर्तन सम्बन्धमा रेडियोका समाचार र सूचनाहरू जलवायु परिवर्तनका असरहरू तथा जलवायु मैत्री क्रियाकलापहरूका बारेमा प्रशस्त कभरेज दिएको छ जसले गर्दा वातावरण संरक्षण गर्न आम जनसमुदायमा सकारात्मक प्रभाव बढेको छ। त्यस्तै विपदमैत्री र जलवायु मैत्री क्रियाकलापहरूलाई अभिवृद्धि गर्दै विपद्को पूर्व तयारी, आपत्कालीन सूचना प्रणाली स्थापना, विपद् न्यूनीकरण तथा रोकथाम का उपायहरू र जलवायुसँग अनुकूलता हुने खालका कार्यहरू जस्तै जलवायु मैत्री कृषि प्रणालीको थालनी जस्ता कार्यहरू गर्न पनि आवश्यक सूचना प्रवाह गरेको छ। जलवायु परिवर्तन र वातावरणीय सचेतना सम्बन्धी रिपोर्टिङलाई वृद्धि गर्दै हरेक समुदायमा पहुँच पुर्याउन युनिस्कोले यस वर्षको रेडियो दिवसको नारा “रेडियो र जलवायु परिवर्तन” तय गरेको छ ।
विगत वर्षहरूका विश्व रेडियो दिवसका नाराहरूलाई एक पटक दृष्टिगत गर्दा रेडियोले विगतदेखि वर्तमानसम्म खेलेको भूमिका स्पष्ट हुन्छ ।
सन् २०१२ मा विभिन्न रेडियो कार्यक्रमहरू आयोजना गरिए पनि नारा तय गरिएको थिएन। तर सन् २०१३ देखि विश्व रेडियो दिवस मनाउने सन्दर्भमा नारा नै तयार गरी दिवस मनाउन थालियो जसअनुसार;
२०२४: अ सेन्च्युरी इन्फरमिङ, इन्टरटेनिङ एण्ड एजुकेटिङ
२०२३: रेडियो एण्ड पिस
२०२२: रेडियो एण्ड ट्रस्ट
२०२१: न्यू वर्ल्ड, न्यू रेडियो – इभोल्युसन, इनोभेसन, कनेक्शन
२०२०: रेडियो एण्ड डाइभर्सिटी
२०१९: डाइलग, टोलरेन्स एण्ड पिस
२०१८: रेडियो एण्ड स्पोर्ट्स
२०१७: रेडियो इज यू
२०१६: रेडियो इन टाइम्स अफ इमर्जेन्सी एण्ड डिजास्टर
२०१५: युथ एण्ड रेडियो
२०१४: जेन्डर इक्वालिटी एण्ड विमेन्स एम्पावरमेन्ट इन रेडियो
२०१३: रेडियो इन द फर्स्ट अफ ट्वेन्टीएथ सेन्च्युरी नारा तय गरिएको पाइन्छ।
रेडियो र जलवायु परिवर्तन: नेपालको सन्दर्भ
हाम्रो देशमा पनि जलवायु परिवर्तनले कृषि कार्यमा प्रभाव पर्न थालेको छ फलस्वरूप कृषि बालीको उत्पादनमा कमी आएको छ, खानेकुरामा प्रभाव परेको छ, पानी कम पर्न थालेको छ, गर्मी बढ्दै छ / स्थानीय बासिन्दाको स्वास्थ्यमा जलवायु परिवर्तनका कारणले रोगहरू बढेको अनुभव छ, खाद्य सुरक्षा सम्बन्धमा जलवायु परिवर्तनले रोग र किराको प्रकोप बढेको छ, बालीमा बाँझोपना आएको छ तथा खाद्य उत्पादन समेत घटेको छ।
यी सबै प्रभावहरूबाट छुटकारा पाउन जलवायु मैत्री क्रियाकलापहरूलाई अगाडि बढाउनुपर्दछ जस्तै सामाजिक र पर्यावरणीय प्रणालीको विपद् सहन सक्ने क्षमता, उत्पन्न प्रकोप विपद् र यसको असरलाई समायोजन गर्न सक्ने क्षमता, जलवायु परिवर्तनबाट उत्पन्न जोखिमलाई व्यवस्थापन गर्न सक्ने क्षमतामा वृद्धि गर्न सक्नुपर्दछ।जलवायु परिवर्तनका कारण सामाजिक क्षेत्रमा पनि प्रभाव परेको छ जस्तै सुरक्षित बसाइको खोजीमा बसाइसराइ हुँदैछ, तराईको क्षेत्रमा वन अतिक्रमण भएको,अनियन्त्रित सहरीकरण सुरु लगायत जनसङ्ख्या वृद्धिले सहरमा धेरै खाले समस्या देखा परेको छ।
जलवायु परिवर्तनका उल्लिखित प्रभावहरूलाई कम गर्न नेपाल लगायत विश्वका हरेक देशहरूले सर्वत्र सुलभ सञ्चार माध्यम रेडियो प्रसारण द्वारा जलवायु परिवर्तन सम्बन्धी सचेतना कार्यक्रम, आपसी अनुभवहरू साटासाट, व्यवहारिक ज्ञानहरू र प्रयोगात्मक सिपको प्रयोग बाट जलवायु मैत्री र वातावरण अनुकूल परिस्थिति सिर्जना गर्न सकिन्छ।
नेपालमा औपचारिक रूपमा सन् १९५१ देखि रेडियो प्रसारण आरम्भ भएको पाइन्छ जसमा सन् १९९० सम्म रेडियो नेपालको एकलौटी भूमिका देखिन्छ। तत्कालीन राज्य व्यवस्थाका मातहत रहेर रेडियो नेपालले समाजमा जनचेतना, गीत संगीत र विकास निर्माणका सूचना सन्देशहरू तथा शिक्षा, स्वास्थ्य, कृषि लगायतका सामाजिक,आर्थिक, सांस्कृतिक विषयमा पर्याप्त सामग्री प्रसारण गरे पनि राजनीतिक चेतनाका हिसाबले चाहिँ यसको प्रसारण पनि विवादरहित रहन सकेन । सन् १९९० पछि बहुदलीय प्रजातन्त्रको पुनरागमन भएसँगै प्रसारण सेवामा पनि निजी क्षेत्रको प्रवेश भयो। फलस्वरूप सामुदायिक प्रकृतिको सगरमाथा एफएम हुँदै निजी र व्यावसायिक प्रकृतिका रेडियोहरूको बाढी नै आयो, कान्तिपुर, इमेज हुँदै आज धेरै सामुदायिक रेडियोहरू पनि स्थापना भई सञ्चालनमा आएका छन्। सूचना तथा प्रसारण विभागको पछिल्लो अभिलेख अनुसार नेपालमा एफ.एम. रेडियोको संख्या ७१४ नियमित प्रसारण र इजाजत प्राप्त एफ.एम. ११८६ पुगेको छ ।
नेपाल बहुदलीय लोकतान्त्रिक व्यवस्था देखि संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्थासम्म आउने क्रममा रेडियोहरूको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको पाइन्छ । यसरी नेपाली समाजको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यवहारमा ल्याउने देखि समाज रूपान्तरणको प्रक्रिया सम्म नेपाली रेडियोहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन । हरेक प्रदेश र धेरै जसो स्थानीय तहमा रहेका एफ.एम. रेडियोहरूले नागरिक सचेतना अभिवृद्धि गर्न र सरोकारवालाहरूको मागलाई सरकार समक्ष पुर्याउन, सुशासन कायम गर्न पहरेदारको भूमिका पनि निभाएका छन् । आजसम्म आइपुग्दा हरेक रेडियोका एप, अनलाइन न्युज पोर्टल र सोसल साइटले गर्दा त साँच्चै भन्ने हो भने सूचना र जागरणको बाढी नै आएको छ भन्नुमा अत्युक्ति नहोला । यद्यपि सीमित विज्ञापन बजार, प्रतिस्पर्धीहरूको संख्यामा वृद्धि, व्यावसायिकताको कमी, राजनीतिक लक्ष्य अनुरूपको प्रसारण, कार्यक्रमको मूल्याङ्कन र प्रभावकारीतामा कमी जस्ता कारणहरूले साथै देश भित्रको आर्थिक क्रियाकलापमा पर्याप्त सुधार भई नसकेको कारण पनि रेडियोहरूले आफूलाई सक्षम र सबल बनाउनमा कठिनाई भोग्दै आएका छन् ।
जलवायु परिवर्तन र वातावरण संरक्षणका सम्बन्धमा स्थानीय रेडियोहरूको भूमिका साँच्चै नै महत्त्वपूर्ण देखिन्छ ।धेरै वर्षको प्रयासपछि रेडियो नेपाल पनि २०८१ असोज २२ देखि सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएको छ । रेडियो नेपालले विगतदेखि नै जलवायु परिवर्तन सम्बन्धी क्रियाकलापहरू, विपद् रोकथाम तथा न्यूनीकरण, आपत्कालीन सूचना सन्देश प्रसारण सहित महामारी र प्राकृतिक प्रकोप हुनु पूर्व, हुँदा र प्रकोप पछि गर्नुपर्ने सूचना/ सन्देश प्रसारण, जनचेतनामूलक सामग्रीहरू, संवादहरू, छलफलहरू र सार्वजनिक महत्वका सूचनाहरू प्रसारण गर्दै आएको छ। सार्वजनिक सेवा प्रसारण भएर पनि नेपालमा युरोपेली मुलुकहरूमा जस्तो पूर्व सूचना प्रणाली स्थापना हुन सकेको छैन साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोप विपद् व्यवस्थापन र महामारी सम्बन्धी सार्वजनिक प्रसारणले गर्नुपर्ने थप क्रियाकलापहरू, निर्देशिकाहरू निर्माण क्रममै छन् ।बाढी, पहिरो, सुख्खा खडेरी, डडेलो जस्ता प्राकृतिक प्रकोप, विपद् जस्ता कुराहरूलाई सार्वजनिक प्रसारणले अझ बढावा दिएर थप दायित्व बहन गर्दै जाला ।
स्थानीय सामुदायिक प्रकृतिका रेडियोहरूले पनि जलवायु मैत्री, विपद् व्यवस्थापन, महामारी र प्राकृतिक प्रकोपका बारेमा आआफ्नो कभरेज क्षेत्रभित्र पूर्व सूचना प्रणाली लागू गरी स्थानीय समुदायलाई पूर्व सूचना दिने गरी आवश्यक क्रियाकलाप अगाडि बढाउन नसके पनि जनचेतनाका विषयवस्तुहरूमा चाहिँ प्रसारण गर्दै आएका छन् । जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न अन्य विकसित देशहरूमा जस्तै नेपालमा पनि प्रसारणमा रहेका सार्वजनिक, सामुदायिक व्यावसायिक र शैक्षिक प्रसारणहरूले पनि पूर्व सूचना प्रणाली जडान गरी विपद् र महामारी प्राकृतिक प्रकोप हुनु पूर्व नै सम्बन्धित समुदायलाई सूचना प्रवाह गर्न सके ठूलो जनधनको क्षति हुनबाट बस्न सकिन्छ । यसका साथै जलवायु परिवर्तन र वातावरण संरक्षणमा आवश्यक क्रियाकलापहरूका बारेमा सबै थरिका रेडियोहरूबाट स्थानीय समुदाय र सरोकारवालासँग आपसी छलफल गरी सरकारका नीति तथा कार्यक्रम बमोजिम थप सक्रियता देखाउन सके विश्व रेडियो दिवसमा राखिएको शीर्ष वाक्य रेडियो र जलवायु परिवर्तन साँच्चै नै व्यवहारमा आउन सम्भव छ । यसमा सरकारी पक्ष, नागरिक समाज, प्रसारण सम्बन्धित संस्थाहरू र गैरसरकारी संस्थाहरू तथा निजी संस्थाहरू को सामूहिक प्रयासबाट आज नेपाल लगायत विश्वले भोगिरहेको जलवायु परिवर्तनबाट उत्पन्न विभिन्न मुद्दाहरूलाई सम्बोधन गर्न सके सबै नागरिकको भविष्य सुरक्षित हुने कुरामा दुई मत नहोला ।
रेडियो प्रसारणले देश भित्र जलवायु मैत्री र वातावरण संरक्षणका क्रियाकलापहरूलाई निम्नलिखित प्रक्रियाबाट सहयोग पुर्याउन सक्दछ जुन विषय हामी सबैका लागि अनुकरणीय हुन सक्दछ। यीमध्ये केही क्रियाकलापहरू हामीले प्रयोग पनि गरिरहेका छौँ भने केही क्रियाकलापहरू थप हुन बाँकी छ।
जस्तै चेतनाको स्तर बढाएर: यसअन्तर्गत हामीले जलवायु परिवर्तन, मौसमका विभिन्न पाटापक्षहरु, मौसमसम्बन्धी विभिन्न देश विदेशमा भएका घटनाहरू सुनाएर, स्टोरी टेलिङ, डाइलग, छलफलको माध्यमबाट तथा पूर्व तयारीका क्रियाकलापहरू सुनाएर पनि चेतना बढाउन र जलवायु परिवर्तनबाट हुने असरहरूलाई रोकथाम गर्न केही हदसम्म सकिन्छ।
व्यावहारिक तरिकाहरू अपनाएर : जलवायु परिवर्तन सम्बन्धी जानकारी त्यस्तै व्यावहारिक ज्ञानहरू जुन चाहिँ जलवायु मैत्री, जलवायु अनुकूलन छन् तिनीहरूलाई एक आपसमा सेयर गरेर पनि जलवायुबाट हुन सक्ने प्रभावहरूलाई न्यूनीकरण गर्न सकिन्छ । जस्तै कृषिमैत्री बालीहरू लगाउन थालेर, बाढी पहिरोहरूलाई रोकथाम गर्ने नीतिहरू बनाएर र तिनीहरूको व्यावहारिक प्रयोग गरेर, अर्को कुरा समुदायलाई जलवायु परिवर्तन सम्बन्धी क्रियाकलापमा आबद्ध गरेर पनि हामीले जलवायु परिवर्तन सम्बन्धी नकारात्मक प्रभावहरूलाई रोक्न सक्छौँ। जसले गर्दा रेडियो प्रसारणबाट समुदायका मानिसहरूले आफूले नबुझेका कुराहरूलाई आपसी छलफलबाट र अनुभव आदानप्रदानबाट पनि सिक्न सक्छन्।
रेडियो माध्यमबाट सूचना प्रणाली लागु गरेर: रेडियोमा अलाम सिस्टम को व्यवस्था गरी प्राकृतिक प्रकोप हुनु पूर्व ती सूचनाहरू प्रसारण गर्ने व्यवस्था मिलाई जिउ धनको सुरक्षा गर्न सकिन्छ। जलवायु परिवर्तनबाट हुने असरलाई रोकथाम सकिन्छ।
परम्परागत ज्ञान र सीपको प्रयोग गरेर : विगतका हाम्रा पूर्वजहरूको परम्परागत ज्ञान र सीपको प्रयोग गरेर पनि हामीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तन सम्बन्धी नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ ।
सीमान्तकृत वर्गलाई बुझाएर : जुन समुदाय सङ्कटमा छ तिनीहरूलाई जनचेतनामूलक कुराहरू सुनाएर, त्यसलाई कसरी अनुकरणीय बनाउन सकिन्छ, वातावरणको संरक्षण गर्न सकिन्छ ती कुराहरूको बारेमा विशेष जानकारी उपलब्ध गराएर पनि सीमान्तकृत वर्गलाई बुझाएर प्राकृतिक प्रकोप र जलवायु परिवर्तन सम्बन्धी नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ ।
रेडियोको प्रसारण पहुँच बढाएर: अहिलेसम्म रेडियो नेपालले विभिन्न प्रविधि र प्लेटफर्म प्रयोग गरेर ९४ प्रतिशत जनसङ्ख्यालाई सेवा दिइरहेको भनेका छौँ, सबै रेडियोहरूले आफ्नो कभरेज क्षेत्रभित्रका समुदायलाई प्राकृतिक प्रकोपको बारेमा जानकारी दिन सकिन्छ।
भाषामा विविधीकरण गरेर: रेडियोमा विभिन्न भाषाहरू प्रयोग गरेर भाषिक विविधता को थालनी गरेर पनि सबै जनसमुदायलाई हामीले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, विपत् जस्ता विभिन्न कुराहरूको जानकारी गराएर पनि प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न सकिन्छ ।
प्रसारण सामग्री नियमन गरेर: रेडियोमा प्रसारण सामग्री कतिको क्वालिटीयुक्त छ, कतिको एकुरेट छ र कतिको तथ्यपरक छ भन्ने कुरा पनि उठ्छ। जलवायु परिवर्तन न्यूनीकरण संरक्षणका क्रियाकलापहरूको विषयमा कुराकानी गरिरहेका छौँ त्यसलाई हामीले नियमन गर्न सक्नुपर्छ, उचित प्रसारण सामग्री छनौट गर्न सक्नुपर्छ ।
कम लगानीमा छिटो सूचना पुग्ने भएकोले पनि रेडियोलाई जलवायु परिवर्तन सम्बन्धी विभिन्न क्रियाकलाप र वातावरण संरक्षणसम्बन्धी क्रियाकलापहरूमा धेरै मात्रामा प्रयोग गर्न सकिन्छ। त्यसैले रेडियो र जलवायु परिवर्तन जुन विश्व रेडियो दिवसको अवसरमा नारा राखिएको छ त्यो सान्दर्भिक देखिन्छ। रेडियोहरूले समग्र नागरिकको जुनसुकै समयमा पनि सुरक्षा गर्ने विषयमा दत्तचित्त भएर काम गर्न सक्दछन् भन्ने विषयमा रेडियोहरूको प्रस्तुति, विषयवस्तु छनोट र प्रविधिका हिसाबले पनि भरोसा गर्न सकिने ठाउँ छ।
विश्व रेडियो दिवसले रेडियोहरूको शताब्दीको इतिहास तथा रेडियोहरूको योगदानलाई यी माध्यमहरूबाट प्रसारित कार्यक्रम, समाचार, नाटक, गीत संगीत, खेलकुद लगायतका क्षेत्रमा गतिलो प्रभाव छोड्न सकेको छ । यसका साथै संकटका बेला, विपद्का बेला, महामारीका बेला र प्राकृतिक प्रकोपका बेला समेत रेडियोहरूले खेलेको भूमिकालाई सदा सर्वदा सम्झिने गरिन्छ । आउँदा दिनमा रेडियोहरूले प्रजातान्त्रिक मूल्य/मान्यताहरूलाई आत्मसाथ गर्दै सीमान्तकृत, बेसहारा तथा अल्पसङ्ख्यक र शरणार्थीहरूका लागि समेत आवाज बुलन्द गर्दै जानुपर्ने टड्कारो आवश्यकता छ ।
यो दिवसले समग्र रेडियो र रेडियोकर्मीहरूलाई जलवायु मैत्री क्रियाकलापको अभिवृद्धि गर्दै विपद्को पूर्व तयारी, आपत्कालीन सूचना प्रणाली स्थापना, विपद् न्यूनीकरण तथा रोकथामका उपायहरू र जलवायुसँग अनुकूलता हुने खालका कार्यहरू थालनी गर्न थप बल मिलोस्, अस्तु । विश्व रेडियो दिवसको सबैमा शुभकामना ।