काठमाडौँ । ओखलढुंगा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । पत्रकार दाहालको मैतीदेवीस्थित निवासमा आयोजित कार्यक्रममा समाजका तर्फबाट वरिष्ठ पत्रकारद्वय ध्रुवहरि अधिकारी र राजेन्द्र दाहालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका-२, रामपुरमा जन्मेका ८३ वर्षीय दाहाल राष्ट्र पुकार साप्ताहिकका सम्पादक तथा प्रकाशकका साथै नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । बि.स. २०५६ मा ओखलढुंगा क्षेत्र नं १ बाट सांसद पदमा निर्वाचित भएका उनीपछि कृषि तथा सहकारीमन्त्री भएका थिए ।
गोरखापत्र संस्थानका पूर्वअध्यक्ष तथा महाप्रबन्धक पत्रकार दाहालले नेपाली पत्रकारितामा विशिष्ट योगदान पुर्याएका वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले बताए ।
वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पञ्चायतकालीन अवस्थामा प्रजातन्त्रका पक्षमा निडरताका साथ पत्रकारिता गरेर उनले पुर्याएको योगदानको चर्चा गरे । “जतिखेर पञ्चायतविरुद्ध पत्रकारले लेख्नै डराउँथे, त्यतिखेर पनि उहाँले निरन्तर प्रजातन्त्रका पक्षमा लेख्न छाड्नुभएन”, दाहालले भने, “उनले पत्रकारिताका माध्यमबाट प्रजातान्त्रिक धारको सधैँ नेतृत्व गरिरहनुभयो ।”
सम्मानित पत्रकार दाहालले आफूलाई सम्झिएर सम्मान गरेकामा संस्थाप्रति आभार प्रकट गरे । उनले विभिन्न समयमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका छन् ।
ओखलढुंगा पत्रकार समाजका तर्फबाट पत्रकारहरू जीवनाथ धमला, जीवराम भण्डारी, बालकुमार नेपाल, नारदमुनि गौतम, तुलसीहरि कोइरालालगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष चेतनाथ धमलाले ओखलढुंगामा जन्मिएर पत्रकारिता क्षेत्रमा रहेका सम्पूर्ण पत्रकारहरूलाई संगठित गर्ने उद्देश्यले संस्था स्थापना गरिएको जानकारी दिए ।







