काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले सामाजिक सञ्जालमा नकारात्मक कुरा प्रवर्द्धन नगर्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएकी छन् ।
शुक्रबार नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलनको धनगढीमा उद्घाटन गर्दै परराष्ट्र मन्त्री राणाले काँग्रेसका नेता कार्यकर्ता मेहनती इमान्दार भएको चित्रण गर्दै सामाजिक सञ्जालको लाइक र शेयरमा ध्यान दिन भनेकी छन् ।
‘फेसबुकको लाइक शेयर तपाईँहरू नकारात्मक कुराको नगर्नुहोस् । सबैको फेसबुक म हेर्ने गर्छु, दुई तीन महिनामा मेरो एउटा टोली छ सबैको फेसबुक हेर्नुहोस् भन्छु’, उनले भनिन्, ‘कुनचाहिँ मान्छेको के मानसिकता रहिछ त्यहीबाट देखिन्छ । ’
पछिल्लो समय सामाजिक सञ्जालमा देशमा केही भएको छैन भनेर नकारात्मक प्रचार मात्रै भइरहेको भन्दै देउवाले चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘देशमा केही नभएको होइन धेरै काम भएको छ । बाहिरी देशले हेर्ने दृष्टिकोण पनि राम्रो हुँदै गइरहेको छ ।’
हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रयास गरिरहेको उनले बताइन् । परराष्ट्र मन्त्री राणाले सरकारले विपिनको रिहाइका लागि सक्दो प्रयास भइरहेको भन्दै उनी सकुशल फर्किनेमा आफू आशावादी रहेको बताएकी छन् । रिहाइको लागि सबै क्षेत्रबाट प्रयास भइरहेको उनको भनाइ थियो ।