झापा । भूमि समस्या समाधान आयोग झापाले कार्यालय स्थापना गरे तापनि काम सुरु गर्न नसकेको जनाएको छ । जिल्ला समन्वय समिति चन्द्रगढीको माथिल्लो तलामा कार्यालय स्थापना गरिएको छ । पहिलाको आयोगले गरेको कामलाई नै निरन्तरता दिने आयोगका जिल्ला अध्यक्ष मदन अधिकारीले बताए ।
विगत एक महिना अघि सरकारले आयोगका जिल्ला अध्यक्ष नियुक्ति गरे तापनि सदस्यहरूको नियुक्ति र कर्मचारी व्यवस्थापन हुन नसक्दा काम सुरुवात गर्न नसकेको उनले बताए । उनले भने “विगतमा राष्ट्रिय भूमि आयोगले जहाँ पुर्याएर काम रोकिएको छ त्यहीबाट निरन्तरता दिने हामीलाई सरकारको निर्देशन छ ।”
उनले हाल भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको विगतको आयोगले गरेको काम अध्ययन गरिरहेको बताउँदै समितिले पूर्णता पाएसँगै कामलाई तीव्र रूपमा अघि बढाउने बताए । अध्यक्ष अधिकारीले जिल्लाका १५ वटै पालिकाहरूमा गरिएका कामहरूको तथ्यांक संकलन गर्ने र सो क्षेत्रको अवस्था बुझ्ने काम गरिरहेको जानकारी दिए ।
“कार्यालय नियमित रूपमा सुरु गरियो समितिले पूर्णता पाएको छैन”, उनले भने, “सदस्यहरू नियुक्ति हुन र कर्मचारी व्यवस्थापन पनि बाँकी रहेको छ । अध्ययन गर्ने काम मात्र भएको छ । फिल्डमै गएर काम सुरु गर्न सकेको छैन ।”







